|

काठमाडौं : पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन्।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो। ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ। ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।

उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ। प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन्। सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन्।

सीआईबीले पौडेल र खड्कासँगको समन्वयमा नेपालमा सुन तस्करी गर्दै आएका केही चिनियाँ तस्करको समेत पहिचान गरेको छ। उनीहरूको राहदानीको प्रतिलिपिसमेत फेला परेको छ। उनीहरूलाई इन्टरपोललगायत च्यानलको सहयोगमा कारबाहीको दायरामा ल्याउन सीआईबी लागिपरेको स्रोत बताउ“छ।
तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोसी गाउँपालिका–४) का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गरेका थिए। उनको व्यापारिक र सम्पत्ति आर्जनलाई जानकारहरूले असामान्य मान्दै आएका छन्। उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन्।

उनले राजधानीको सानो भर्‍याङ क्षेत्रमा मात्र तीनवटा घर बनाएका छन्। साथै, २२ मेगावाटको अपर चाकु जलविद्युत् परियोजनामा समेत उनको लगानी भएको स्रोत बताउँछ। कतिपय आफ्ना लगानी परिवारका सदस्यहरूको नाममा राखेकाले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट त्यो पक्षलाई तान्ने सीआईबीले तयारी गरेको छ। केही वर्षअघिसम्म तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको व्यापक तस्करी चल्दा पौडेल सक्रिय रहेको प्रहरीको बुझाइ छ। उनी रक्तचन्दनको कमाइलाई सुनतर्फ मोडेर धन्दा विविधीकरण गर्न सफल भएका हुन्। उनकै परिवारका एक सदस्य ५ वर्षअघि डलर अपचलन मुद्दामा केही समय कैद परेका थिए।

टोखामा १४ किलोसहित पक्राउ परेका पेम्बा शेर्पाले सुन तस्करी सन्जालमा पौडेलका लागि काम गर्दै आएको खुलेको छ। दीपेन्द्र थापा र सरोज थापाचाहिँ खड्काका लागि काम गर्ने ‘भरिया' हुन्। पौडेल र खड्का दुवैको प्रत्यक्ष र निरन्तर सम्पर्क चिनियाँ व्यापारीसँग भएको देखिन्छ। ‘तीमध्येकी एक चिनियाँ महिला नियमित नेपाल आउजाउ गर्छिन् र आत्मविश्वासी पाराले नेपाली पनि बोल्छिन्,' सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्। ती महिलाको पूर्ण विवरण सीआईबीले पाइसकेको छ।'

वैध सुन व्यापारको आवरणमा अन्तर्राष्ट्रिय तस्करीमा सक्रिय खड्का यसअघि प्रहरीको शंकास्पद सूचीमा परिसकेका व्यक्ति हुन्। उनी पहिले तातोपानी, हाल केरुङ नाकाबाट सुन ओसार्नेबाहेक दुबईमा रहेर नेपालमा सुन पठाउने गिरोहसँग पनि नजिक रहेको स्रोतको दाबी छ। ‘उनको भारतमा तस्करी च्यानलसँग राम्रो सम्बन्ध रहेको हुन सक्छ,' एक अनुसन्धान अधिकृत भन्छन्। पौडेल र खड्काले पछिल्लो पटक कुल २२ किलो सुन भित्र्याएकामा १५ केजी मात्रै फेला परेको थियो। बाँकी स्थानीय बजारमा खपतका साथै भारत पठाइएको भन्ने पक्राउ परेकाहरूको बयानमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.