|

वीरगञ्ज : 'आर्थिक क्षमता कति छ, उम्मेदवारसँग कार्यकर्ताको संख्या त्यति नै रहन्छ। चुनाव अकल्पनीय किसिमले महँगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन,' पर्साको पश्चिमी सिमानामा रहेको धोबिनी गाउँपालिका फूलबरिया टोलका राजकुमार पटेलले भने, 'दिनको कम्तीमा ५ सय रुपैयाँ नगद, दिउँसो मासुसहित खाना, साँझ मासु-रक्सीसहित नास्ता र प्रत्येक मोटरसाइकलमा तेल हाल्न दैनिक कम्तीमा ३ सय रुपैयाँ भए मात्र कार्यकर्ता पाइने रहेछ।'

उक्त खर्चबाहेक पोस्टर, पम्प्लेट, सामूहिक भोज र टोलटोलका अगुवालाई मिलाउन मोटो रकम दिएपछि चुनाव प्रचारप्रसार अभियानले बल्ल अलि गति लिने उनले बताए। उनी चुनाव लड्ने योजनामा थिए तर मोटो रकम चाहिने देखेर पछि हटे। यसबाट गाउँदेखि सहरसम्म चुनाव निकै महङ्गो भएको पुष्टि हुन्छ। तर चुनाव मर्यादित बनाउन न राजनीतिक दलको भूमिका छ, न सरकारी संयन्त्रकै।

वीरगञ्जमा नेकपा एमालेले पार्टीबाहिरबाट भए पनि पैसावाल व्यक्ति खोजेर महानगर प्रमुखको उम्मेदवार बनायो। एमाले उम्मेदवार बसरुद्दिन अन्सारी नेसनल मेडिकल कलेजका सञ्चालक तथा वीरगञ्जको धनी सहकारी कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका लगानीकर्ता हुन्।

संघीय समाजवादी फोरम नेपालले औद्योगिक तथा व्यापारिक घराना सरावगी समूहका अध्यक्ष विजय सरावगीलाई मैदानमा उतारेको छ। यसरी साहुकार मैदानमा उत्रिएपछि नेपाली कांग्रेसले पनि वीरगञ्जमा उद्योगी-व्यापारी वर्गमा पकड भएका अजयकुमार द्विवेदीलाई मैदानमा उतारेको छ। माओवादी उम्मेदवार रहबर अन्सारी पनि निजी अस्पतालको सञ्चालक भएकाले सम्पन्नमै गनिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.