|

बाँके :  बाँकेको विकट पूर्वी क्षेत्रमा पर्ने राप्ती–सोनारी गाउँपालिकामा पहिलो पटक साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ। सूचनाको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सूचना प्रवाह गरी सम्मृद्ध गाउँपालिका बनाउने अभियानका साथ साप्ताहिक पत्रिका प्रकाशनमा आएको हो।

उक्त पत्रिकाको राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, बैजापुर गाविसका पूर्व अध्यक्ष तुलसीराम थारु लगायतले सोमबार संयुक्त रुपमा उद्घाटन गरे।

सूचना र विकास एक अर्काका परिपूरक भएकोले राप्ती–सोनारी गाउँपालिकामा पहिलो पटक साप्ताहिक पत्रिका प्रकाशन गरिएको प्रकाशक हेमन्त चौधरीले बताए। राप्ती–सोनारी गाउँपालिका प्राकृति स्रोत, साधनले भरिपूर्ण भएपनि बाढी लगायत प्राकृतिक विपदले नोक्सान पुर्‍याउँदै आएको बताउँदै उनले बाढी र जंगली जनावरले पुर्‍याउने क्षति न्यूनिकरण पहिलो प्राथमिकता भएको बताए। उनले पत्रकारिताको माध्यमबाट समस्या समाधानका उपाय खोजिने बताए।

उनले राप्ती–सोनारी गाउँपालिकाको गाउँ–गाउँमा पत्रकार उत्पादन गरी सही सूचना प्रवाह गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे। उनले सही सूचना प्रवाह गरेर समृद्ध राप्ती–सोनारी गाउँपालिका बनाउने दायित्व आफ्नो पनि भएको बताए। ‘कसैको प्रभाव र दवावमा नपरी सहीलाई सही र गलतलाई गलत भनेर बाहिर ल्याइने छ,’ उनले भने।

सो अवसरमा राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती–सोनारी गाउँपालिका प्राकृतिक सम्पदा र स्रोत, साधनले धनी भए पनि गरिव भएको बताए। उनले प्राकृति स्रोत, साधनको उपयोग र राजस्व संकलन गर्न नपाउँदा आफ्नो गाउँपालिका मारमा परेको बताए। ‘आफ्नै गाउँपालिकामा रहेको प्राकृति स्रोत र साधन जिल्ला समन्वय समितिले ठेक्का दिएर लैजाँदा टुलुटुलु हेर्ने सिवाय अरु केही छैन,’ उनले भने, ‘आफ्नो क्षेत्रमा भएको प्राकृति स्रोत, साधनको प्रयोग र बिक्री वितरण गर्न नपाउनु विडम्वना मान्नुपर्छ।’

उनले यस वर्ष जिल्ला समन्वय समितिलाई ढुंगा, गिट्टी, मोरङ लगायत अन्य खोला तथा नदी जन्य बस्तुको राजस्व संकलन गर्न दिए पनि आगामी वर्षदेखि नदिने स्पष्ट पारे। हाम्रो ठाउँमा भएको वस्तु बिक्री गरेर अन्य ठाउँको विकासमा खर्च गरेकोमा आपत्ति प्रकट गरे। ‘यसपाली यस्तै भयो, अर्को वर्षदेखि सजिलै गरी उत्खनन् र बिक्री वितरण गर्न दिइने छैन,’ अध्यक्ष थारुले भने।

पत्रिका उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जिल्ला सदरमुकाम र ठूला सहरका पत्रिका चलाउन मुश्किल भइरहेका बेला गाउँपालिकामा पत्रिका प्रकाशन हुनु राप्ती–सोनारी गाउँपालिकाका लागि सौभाग्य भएको बताए। उनले राजनीतिक कुराभन्दा विकासका कुरा लेख्न सुझाव दिए। ‘अहिले राजनीतिक कुराभन्दा विकासका कुरा लेख्ने बेला हो,’ उनले भने।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारिकताको महत्व बुझ्न नसक्दा हल्का रुपमा हेर्ने परम्परा विकसिकत हुँदै गएको बताए। उनले पत्रकारिताले धेरै ठूला निर्णयलाई उल्टाएको उदाहरण प्रस्तुत गर्दै नकारात्मक भन्दा सकारात्मक समाचारमा ध्यान दिन सुझाव दिए। ‘समस्या देखाउनेमात्र नभई समस्या समाधानको बाटो पनि देखाउने पत्रकारको धर्म हो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.