|
फोटो सौजन्य : हरिबहादुर रोकाया

कालिकोट :  एभरेस्ट म्याराथनका कीर्तिमानी खेलाडी तथा गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा नाम लेखाइसकेका धावक हरिबहादुर रोकाया अहिले नयाँ खेलाडीलाई प्रशिक्षण दिनमा ब्यस्त छन्। हिजोआज उनी जुम्लामा आफूजस्तै खेलाडी उत्पादन गर्न प्रशिक्षार्थीलाई कहिले हिलोमा, कहिले उच्च हिमाल र हिउँमा दौडाइरहेका हुन्छन्।

जुम्लाका हरिबहादुर पहिलो पटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (५१८४ मिटर) बाट ३४४६ मिटरको नाम्चे बजारसम्मको एभरेस्ट म्याराथनमासहभागी भएका थिए। त्यसमा दोस्रो भएका उनी सन् १९९७ मा पहिलो भए।

सन् २००० मा एभरेष्ट म्याराथन ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा पार गर्दै गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम समेत लेखाए। तर दुःखको कुरा, सन् २००२ मा भने उनी प्रवेश शुल्क तिर्न नसकेर एभरेष्ट म्याराथन खेल्न पाएनन्।

‘मलाई यहाँसम्म ल्याइपुर्‍याउन उत्प्रेरणा दिने धेरै जना छन्। उनीहरुकै प्रेरणा मैले तीन पटक उपाधि उचालेँ। अन्तिममा शुल्क नै तिर्न सकिनँ खेलमा भाग लिन पाइनँ’ रोकायाले भने।

हरिबहादुरले १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका छन्। १३ राष्ट्रिय प्रतियोगितामध्ये ९ वटामा रोकायाले उपाधि उचालेका छन्। अन्तर्राष्ट्रिय खेलमा सन् १९८५ मा इन्डोनेसियाको जाकार्तामा एसियन ट्रयाक एन्ड फिल्डको ५ किमी दौडमा सहभागी भए।

लामो समय खेल क्षेत्रमा बिताएका हरिबहादुर अहिले जुम्लामा नै 'कर्णाली स्पोर्टस् क्लब' खोलेर म्याराथनका खेलाडी उत्पादन गरिरहेका छन्। उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटाली लगायतका देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगिसकेका छन्। केहीले राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरुस्कार समेत जितेको हरिबहादुर बताउँछन्।

‘मैले उत्पादन गरेका खेलाडी कोही कतै पुगे, कोही कतै पुगेका छन्’ उनी भन्छन्, ‘मेलै प्रशिक्षण दिएका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुस्कार जितेको बेला निकै गर्व लाग्छ।’

कर्णाली स्पोर्टस क्लबमा प्रशिक्षणका लागि आउने खेलाडीका लागि पौष्टिक आहार (डाइट) र खेल पोशाकको समस्या भएपछि हरिबहादुरले नयाँ जुक्ति निकालेका छन्। प्रशिक्षार्थी खेलाडीले कुनै विकासे योजनाका काम गर्ने र त्यसबाट आएको पारिश्रमिकबाट खर्च चलाउने गरेको रोकायाले बताए।

‘अहिले ४८ जना प्रशिक्षार्थी खेलाडी छन्। उनीहरु आफूसँगै विकासे योजनाहरुमा काम गर्छन्। त्यसैबाट आएका पैसाले खेलाडी डाइट, लत्ताकपडा लगायत आवश्यक साम्रगी खरिद गर्ने गरेका छौं’ उनले भने।

अहिले भने कर्णाली स्पोर्टस् क्लबले एडिडास कम्पनीसँग सम्झौता गरेर केही आर्थिक सहयोग जुटाएको रोकायाले बताए। ‘राज्यले खेल क्षेत्रमा खासै चासो दिएको छैन’ उनले भने, ‘हामीले एडिडास कम्पनीसँग सम्झौता गरेपछि लजिष्टिक केही सहज भएको छ।’

धेरै जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमानी खेलाडी उत्पादन गर्ने आफ्नो चाहना रहेको हरिबहादुर बताउँछन्। ‘मलाई केही चाहिएको छैन’ उनी भन्छन्,‘धेरै जना खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान बनाउनुछ।’

हरिबहादुर चेला कसले के जिते?

नेपाली एथ्लेटिक्सकी प्रतिभावान धाविका विश्वरूपा बुढाले हरिबहादुरकै प्रशिक्षणमा छैठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पनि जितेकी थिइन्।

त्यस्तै, हङकङमा भएको ५० किलोमिटर लामो ‘एमएसआईजी ट्रेल रनिङ प्रतियोगिता’ मा हङकङमा धाविका सुनमाया बुढाले जितिसके छन्। धाविका पूर्णलक्ष्मी न्यौपानेले धेरै प्रतियोगिता जितेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.