|

बेनी : बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ।

एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको ठूलै जिम्मेवारी छ। आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आएका छन्।

श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गामा छाप्रोमा बस्छन्। दर्जीको अवस्था देखेका र हाल विदेशमा रहेका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले १ लाख ४० हजार संकलन गरी उनलाई सहयोग गरेका हुन्। दर्जीका दुई छोरा १२ र ६ कक्षामा अध्ययरत छन्। 

“गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,” दर्जीले भने। छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ। उनको कान्छो छोराको आँखा पनि कमजोर छ। ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बनेका छन्। “छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,” उनले भने। दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.