|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको भयानक पीडा भोगेको आफूले फेरि शक्तिशाली बन्ने अभियानको नेतृत्व गर्न पाएको बताएका छन्।

शान्ति प्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित भएको माओवादीमा एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको भन्दै उनले केही वर्षमा माओवादी फेरि पहिलो शक्ति बन्ने दावी गरेका छन्।

मंगलबार काठमाडौंमा विभिन्न तीन समूहलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले भने 'यो प्रक्रिया (एकता) लाई निश्कर्षमा पुर्‍याउनेवित्तिकै समाजवादतिरको यात्रा शक्तिशाली ढंगले अगाडि बढ्छ, केही वर्षमा माओवादी सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित हुनेछ।'

अहिले मधेसमा हजारौं मानिसहरु माओवादीमा प्रवेश गरेको दावी गर्दै अध्यक्ष प्रचण्डले मधेसमा उत्पीडितको मुद्दा उठाउने माओवादीमात्रै रहेछ भन्ने सन्देश प्रवाह भएको बताए। 'मैले एउटै कार्यक्रममा १० हजारलाई प्रवेश गराएँ', उनले भने, 'माओवादी कमजोर भयो भने मधेस हार्छ, मधेसी आदिवासी जनजाति, मुस्लिमलाई सम्मान गर्ने माओवादी मात्रै हो भन्ने मत देखिएको छ।'

विगतमा जनयुद्ध लडेका र माओवादी केन्द्रबाट अलग भएकाहरुले 'प्रचण्डलाई कमजोर पार्नु भनेको हामी सबै सिद्धिनु हो' भन्ने बुझेकाले अहिले ध्रुवीकरण प्रक्रिया चलिरहेको प्रचण्डको भनाइ छ।

माओवादी सीसा र फलामको फ्युजन

मंगलबार संघीय समाजवादी फोरम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको एउटा समूह नेकपा माओवादी केन्द्रमा प्रवेश गर्‍यो। त्यसमध्ये नेकपा क्रान्तिकारी माओवादीबाट आएको समूहका नेतृत्वकर्ता थमानसिंह थापाले माओवादी सीसा र फलामको फ्युजन भएको बताए।

'पहिला अध्यक्ष कमरेडले माओवादी फरक धातुले बनेको पार्टी हो भन्नुहुन्थ्यो, कुन धातुचाहिँ भन्नुभएन' उनले भने, 'बलियो र बन्दुकजस्ता जे पनि बनाउन मिल्ने भएकाले फलाम होला भन्ने ठानेका थियौं। तर शान्ति प्रक्रियामा आएपछि सीसा झैं टुक्रा टुक्रा भयो। पार्टी सीसाले बनेको रहेछ भन्ने लाग्यो।'

अहिले फेरि पार्टीमा ध्रुवीकरण सुरु भएको भन्दै उनले फेरि फलामजस्तो बलियो बन्न लागेको बताए। त्यसैले मेरो विचारमा माओवादी पार्टी सीसाजस्तो अत्यन्त संवेदनशील र फलामजस्तो बलियो छ' थापाले भने, 'माओवादी पार्टी सीसा र फलामको फ्युजन हो, सीसा झैं फुट्न सक्ने र फलामजस्तो बलियो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.