|

विराटनगरः

फेरि दशकको अन्तरालमा बाढी आउँदा
पूर्व खडेरीझैँ वातावरण बनायो
नदी, नहर, खोलाको बाँध टुटेर आउँदा
गाउँदेखि शहरलाई समुद्रझैँ बनायो
बाँचिने आशमा छतदेखि छानासम्म पुर्‍यायो। 

१७ वर्षका प्रमोदकुमार मण्डलले बाढीबाट त्रसित र पीडितलाई उद्धृध गर्दै लेखेको ‘पीडित भावना’ शीर्षकको यो कविताले वास्तविक पीडितको मर्म बोलेको छ। 

इनरुवा– ८ सुनसरीका प्रमोद विराटनगरको भानु मेमोरियल उच्च माविमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत छन्। साहित्य र लेखनप्रति रुचि राख्ने उनै प्रमोदले सानै उमेरमा ‘आदर्श नारी’ र ‘सफलताको मेरो चुचुरो’ शीर्षकमा दुई छुट्टाछुट्टै उपन्यास लेखिरहेका छन्। अहिलेसम्म एक दर्जन बढी साना ठूला प्रतियोगितामा विजेता बनिसकेका प्रमोद पढाइमा पनि अब्बल छन्। 

विज्ञान विषयका गाह्रा सूत्र अध्ययन गर्नुपर्दा पनि उनी साहित्यलाई उत्तिकै समय दिइरहेका छन्। वक्तृत्वकला, निबन्ध प्रतियोगिता, गीत, गजल तथा कविता प्रतियोगिता हुँदा सहभागी भइहरने प्रमोदको इच्छा साहित्यकार बन्ने छ। ‘यहाँको परिवेश र भविष्य हेरेर मैले विज्ञान विषय पढ्न बाध्य छु’, प्रमोदले भने, ‘सबैले साहित्य पढेर केही नहुने बताएपछि आफू विज्ञान विषय पढ्न बाध्य भएको हुँ।’

इनरुवाको त्रिभुवन माविबाट ३ दशमलव १० जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका प्रमोद ६ कक्षादेखि नै साहित्यिक कार्यक्रममा भाग लिन्थे। ‘पहिलो पटक ६ कक्षामा पढ्दा स्कुलको बालदिवसमा वक्तृत्वकला प्रतियोगिता भएको थियो, त्यहाँ म प्रथम भएँ’, त्यो क्षण सम्झँदै उनले भने, ‘त्यसपछि निरन्तर साहित्य तथा लेखनमा मेरो हौसला र रुचि बढेको हो।’

स्कुलको कक्षा ८ सम्म प्रथम स्थान ल्याएका उनी ९ कक्षामा भने दोस्रो भए। ‘गीत, गजल तथा साहित्यिक कार्यक्रममा बढी ध्यान दिँदा पढाइ केही खस्कियो’, प्रमोदले भने, ‘अहिले भने पढाइ र साहित्य क्षेत्र दुवैलाई उत्तिकै समय दिएको छु।’ 

सुरुवाती साहित्य लेखनमा माया प्रेम झल्किने प्रमोदका साहित्य अहिले राष्ट्रवादी र पीडितको पक्षमा लेखिन थालेका छन्। ‘कोर्षका पुस्तक पढेर सकिएपछि रातको समयमा साहित्य रचना लेख्छु’, प्रमोदले भने, ‘जहाँ साहित्यिक प्रतियोगिता हुन्छ, त्यहाँ भाग लिन मन लाग्छ।’

अटल शिर नेपालको, सगरमाथा हिमालको
केही पाइएन समुन्नति
जिन्दगी अँध्यारो लाग्यो, आगमन विपदको
अवस्था अस्ताउने सूर्यको गति
आँसु सकियो आँखामा, अझै आएन मति।

नेपालमा पर्याप्त संभावना र गर्वका विषय भए पनि मानिसको प्रवृत्ति सोहीअनुसार नभएको व्यंग्य गर्दै उनले लेखेका उल्लिखित कविताका हरफ कुनै चर्चित साहित्यकारको भन्दा कम ओजपूर्ण छैनन्। नेपाली, हिन्दी, मैथिली भाषामा पनि साहित्यको रचना गरेका प्रमोदले थुप्रै साहित्यसँग सबन्धित रेडियो कार्यक्रममा पनि भाग लिएका छन्। लेख्दालेख्दै अलमलिएका क्षणलाई पनि उल्लेख गर्दै प्रमोदले ‘अधुरो कविता’ शीर्षकमा यस्तो रचना गरेका छन्। 

मनभित्र आउने कल्पनाका भावहरू
शब्दमा एकोहोरो बयान गर्न खोज्दा
कतै गद्य र पद्यको आतंक देखियो
उज्यालो आकाशमाथि जूनको वयान गर्दा
मेरो अधुरो कविताको संग्रह भेटियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.