राजनीति

जम्बो मन्त्रिपरिषदबारे प्रचण्डको टिप्पणी : ‘संक्रमणकालको अधिकतम लाभ लिएको होला’
SHARES

भदौ २७, २०७४

    विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेर संक्रमणकालको अधिकतम लाभ लिएको टिप्पणी गरेका छन्।

    विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएको कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकतम लाभ लिएको हुनसक्ने बताए। ‘संक्रमणकालको यो अन्तिम सरकार हो,’ प्रचण्डले भने, ‘अहिलेको मन्त्रिपरिषद अन्तिम भएकै कारण शेरबहादुरजीलाई अधिकतम लाभ लिने छुट भएको होला।’

    संविधानमा नै मन्त्रीको संख्या २५ तोकिएकाले अबको चुनावपछि बन्ने सरकार २५ सदस्यीय मात्र हुनुपर्नेछ। तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको मन्त्रिपरिषद ५४ सदस्यीय पुगेको छ।

    २ नम्बर प्रदेशका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न मधेस आएका प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले अत्यन्तै विकृत ढंगले पैसा खर्च गर्नुपरेको बताए। ‘मैले २ नम्बर प्रदेशको निर्वाचनलाई नजिकबाट हेरिरहेको छु, पार्टीहरुले अत्याधिक पैसा खर्च गरेको देखेको छु,’ प्रचण्डले भने, ‘यो निर्वाचन प्रणाली नफेरेसम्म यो समस्या ज्यूँका त्यूँ रहने देखिन्छ।’

    माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद निर्माण गर्ने व्यवस्था नबनाएसम्म समस्या समाधान नहुने पनि बताए। ‘२ नम्बर प्रदेशको निर्वाचनमा के हुन्छ अहिले नै भन्न सकिँदैन,’ प्रचण्डले भने, ‘निर्वाचन प्रणालीको त्रुटीका कारण मत प्रभावित पार्ने र पैसा खर्च गर्ने देखिएको छ।’

    मधेसका जनताले माओवादीलाई माया गरेको र पार्टी प्रवेशको लहर चलेको आफूले पाएको बताउँदै उनले अहिलेको निर्वाचनबाट दुईवटा अतिवाद परास्त हुनुपर्ने निष्कर्षमा जनता पुगेको दाबी गरे। ‘केही समयअघि अति उच्च अहंकार राष्ट्रवाद र मधेस टुक्र्याउने अति राष्ट्रवादका कारण समस्या सिर्जना भएको थियो,’ उनले भने, ‘अहिले मधेसमा त्यो दुवै समस्या हल भएको छ र माओवादीप्रतिको आकर्षण बढेको छ।’

    पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अर्को प्रसंगमा आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार भएको छ भने कारबाही गर्नुपर्ने बताए ‘बेथिति भएको हो भने गम्भीर रुपमा लिएर कडा कदम चाल्नुपर्छ,’ उनले भने, ‘मैले मन्त्री शिवकुमार मण्डललाई पनि भनेको छु, यो कदापि छुट दिइनु हुँदैन।’

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]