|

काठमाडौँः प्रहरी महानिरीक्षकको दौडमा रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले राजीनामा दिएका छन्।

मंगलबार सर्वोच्च अदालतले विचाराधीन महानिरीक्षकबारेको मुद्दाको सुनुवाइ गर्दै प्रकाश अर्यालको नियुक्तिलाई सदर गरेपछि डीआईजी सिलवालले राजीनामा दिएका हुन्। मंगलबार नै एक विज्ञप्ति जारी गर्दै सिलवालले प्रहरी संगठनमाथि राजनीतिक हस्तक्षेप भएको र त्यसको सिकार आफू भएको बताएका छन्।

उनले प्रहरी संगठन कहिल्यै पनि राजनीतिक प्रभावमा पर्नु नहुने तर यस्तै भइरहेको बताउँदै विज्ञप्तिमा भनेका छन्, ‘प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहेसम्म कानुनी राज्य स्थापित हुन सक्दैन।’

डीआईजी सिलवालले प्रहरीलाई जसरी चलाए पनि हुन्छ भन्ने सोचका कारण प्रजातन्त्रमाथि नै कलंक लाग्न सक्ने आफूलाई चिन्ता लागेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले ७ महिनासम्म आफूले ‘स्थिर र निष्पक्ष प्रहरी प्रशासनका लागि’ लडाइँ लडेको बताएका छन्। उनले भनेका छन्, ‘यो लडाइँ प्रहरी संगठन उपर हुने राजनीतिक हस्तक्षेप र स्वेच्छाचारितालाई दुरुत्साहन गर्नका लागि थियो। अन्यायमाथि न्यायको विजयका लागि थियो।’

सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसके पनि देश र देशवासीको माया र सद्भाव प्राप्त गरेकामा खुसी व्यक्त गरेका छन्।

हेर्नुहोस् राजीनामा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.