|

लहान : नेपाली कांग्रेस सिरहाद्वारा मंगलबार साँझ धनगढीमाई नगरपालिकाको जिरोमाइलमा आयोजित चुनावी सभा वर्षात्को कारणले बिथोलिएको छ। यस सभामा प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम थियो। 

जिरोमाइलस्थित आधारभूत विद्यालयमा आयोजित सभा सुरु भएको सवा घण्टापछि साँझ पौने सात बजेतिर भीषण वर्षात् भएको थियो। त्यतिबेलासम्म प्रधानमन्त्रीको बोल्ने पालो आइसकेको थिएन। 

वर्षातपछि प्रधानमन्त्रीलाई सुरक्षाकर्मीको एस्कर्टिङ्मा जिल्ला सभापति तथा सांसद् रामचन्द्र यादवको जिरोमाइलस्थित घरमा लगिएको थियो। त्यहाँ आधा घण्टा बसेर उनी जनकपुर हिंडे। 

साँझ साढे ५ बजे सुरु भएको चुनावी सभालाई वर्षात्अघि १३ जना केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए। चुनावी सभामा बरिष्ठ उपसभापति रामचन्द्र यादव, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री विमलेन्द्र निधिले पनि बोल्न पाएनन्।

त्यसअघि बोलेका प्रायः सबै नेताहरुले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि मधेस र मधेसीको अधिकारको पक्षमा लड्दै आएको कांग्रेसलाई जिताउन आग्रह गरे। 

साम, दाम, दण्ड, भेद प्रयोग गरेर का‌ंग्रेसलाई जिताउन आग्रह

चुनावी सभालाई नवौं वक्ताको रुपमा सम्बेधन गरेका कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गरेरै भएपनि कांग्रेसले जित्नैपर्ने बताए।

‘संविधान लागू हुने–नहुने र स्थानीय निर्वाचन हुन्छ हुँदैन भन्ने आशङ्का थियो,’ केन्द्रीय सदस्य गिरीले भने ‘कांग्रेसकै नेतृत्वमा दुवै काम भएको छ, कांग्रेस बलियो नभए लोकतन्त्र पनि जोगिंदैन र संविधान कार्यान्वय पनि पूरा हुँदैन।’ 

संसदमा संविधान संशोधनको विपक्षमा मतदान गरेको नेकपा एमाले मधेसको सबैभन्दा ठूलो विरोधी पार्टी रहेको उनको आरोप छ। 

पूर्व मन्त्री र केन्द्रीय सदस्यहरुको जमघट

चुनावीसभामा पूर्व परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य डा.प्रकाशशरण महत, पूर्व मन्त्री रमेश लेखक, पूर्व मन्त्री एन.पी. साउद, पूर्व मन्त्री तथा कोषाध्यक्ष सीतादेवी यादव, सीताराम मेहता, अमियकुमार यादव, सांसद डा. गणेश मण्डल लगायतले बोलेका थिए।

सभामा कांग्रेस सम्बद्ध महिला, विद्यार्थी, युवा, सांस्कृतिक फाँटका केन्द्रीय अध्यक्षहरुले पनि बोलेका थिए। कार्यक्रममा जिल्लाका १७ स्थानीय तहका अध्यक्ष÷ प्रमुख, उपाध्यक्ष÷ उपप्रमुखहरुको पनि उपस्थिति रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.