|

  • विकास डाँगी

दाङ : जिल्ला प्रहरीले कार्यालयले फेसबुकमा गैरजिम्मेवारपूर्वक सूचना सार्वजनिक गरेपछि स्वभाविक मृत्युको घटना रहस्यमय बनेको निष्कर्ष संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरले निकालेको छ। 

यसअघि 'गंगटे' नामका व्यक्तिको शव बेवारिस अवस्थामा भेटिएको सूचना जिल्ला प्रहरी कार्यालयको फेसबुकमार्फत सार्वजनिक भएपछि उनको मृत्युको विषय विवादमा तानिएको थियो किनकी बेवारिसे भनिएका यी मृतक प्रहरीसँगै अस्पतालमा बसेको फोटो सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो

प्रहरीले यसै विषयमा अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गरेको हो। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले 'गंगटे' भन्ने व्यक्तिको मृत्यु राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा भएको बताएको छ।

के भएको थियो ?

यसअघि फेसवुकमार्फत जिल्ला प्रहरी कार्यालयले ‘गंगटे’ को शव चौपट्टामा बेवारिसे अवस्थामा भेटिएको जानकारी गराएको थियो। ' भदौ १४ गते बिहान ६ बजे 'ग‌ंगटे' भनेर चिनिएका व्यक्तिको शव चौपट्टामा भेटिएको र उनको नाम,थर,वतन खुल्न नअाएको' जानकारी फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालयले गराएको थियो। 

प्रहरीले बेवारिसे भनेका तिनै ‘गंगटे’ प्रहरीसँगै अस्पतालमा चेकजाँचका क्रममा रहेको फोटो सार्वजनिक भएपछि घटना रहस्यमय बनेको थियो। स्थानीयवासीले प्रहरीले सूचना लुकाउन खोजेको आशंका गरेका छन्। उनीहरुले वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्र 'ग‌ंगटे' को मृत्यु भएका कारण प्रहरीले सूचना लुकाउने प्रयास गरेको आशंका गरेका छन्। 

जिल्ला प्रहरी कार्यालयले फेसबुकमार्फत सार्वजनिक गरेको सूचनामा ६ बजे बिहान चौपट्टामा बेवारिसे शव फेला परेको उल्लेख थियो।

छानविनपछि प्रहरीले उनको शव चौपट्टामा भेटिएको नभएर उपचारका लागि घोराही अस्पताल लगेपछि अस्पतालमा उनी मृत घोषित भएको तथ्य सार्वजनिक गरेको छ। यस घटनाको अनुसन्धानपछि संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका प्रमुख दिलिप  चौधरीले तयार पारेको प्रतिवेदनमा फेसबुकमा गैरजिम्मेवारीपूर्वक सूचना राख्ने प्रहरीलाई कारबाही गर्नुपर्ने उल्लेख छ। 

'गंगटे' को उपचारका लागि लमहीका दुई वटा अस्पतालमा लगिएको र अस्पतालले घोराही रिफर गरेपछि घोराही ल्याउँदा अस्पतालमा डाक्टरले मृत घोषित गरेको खुल्न आएको अनुसन्धानमा खटिएका चौधरीले बताए। 

यस घटनाको अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय लमहीमा रहेका थुनुवाहरु तथा ड्यूटीमा रहेका प्रहरी लगायत सम्बन्धित सबैसँग सोधपुछ एवंम् वयान गरिएको उनले जानकारी दिए।

यस्तो छ अनुसन्धान प्रतिवेदन 

‘गंगटे’ लाई प्रहरीले १२ गते घोराहीमा पक्राउ गरी १३ गते इप्रका लमही लगेको र सोही साँझ मेडिकल गरी हिरासतमा राखेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर मदिराले लट्ठ गंगटेले १३ गते राती प्रहरी हिरासतमै होहल्ला गर्ने, मादक पदार्थ माग्ने, टाउको भित्तामा ठोक्ने लगायतका कार्य गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ।

प्रहरीका अनुसार १४ गते बिहानपख बेहोस भइ ‘गंगटे’ भुईमा लडेपछि अर्का थुनुवाले खबर गरेका थिए। त्यसपछि प्रहरीकै गाडीमा अस्पताल गंगटेलाई अस्पताल पुर्‍‍याइएको थियो। 

प्रहरीका अनुसार लमहीका २ वटा अस्पतालमा उपचार नभएपछि एम्बुलेन्स मार्फत ‘गंगटे’लाई घोराही अस्पतालमा ल्याइएको थियो। घोराहीमा उपचारका क्रममा उनको निधन भयो।

‘घटनाको अनुसन्धानका क्रममा घटना स्वाभाविक भएको पाइयो। तर जिल्ला प्रहरी कार्यालयले आफनो आधिकारीक फेसवुक पेजमा गलत सुचना सार्वजनिक गरेका कारण रहस्यमय जस्तो देखिएको हो,’ चौधरीले भने,‘हामीले यस घटनाको अनुसन्धान गर्ने क्रममा वडा कार्यालयमा रहेको थुुनुवा तथा ड्यूटीमा खटिएका प्रहरीसँग बयान लिएका छौं। घटनाको सुक्ष्म अनुसन्धान गरेका छौं।’

प्रतिवेदन सार्वजनिक कार्यक्रममा एआईजी मिङमार लामाले घटनामा स्वभाविक भएपनि प्रहरीले नै गलत सूचना दिएका कारण रहस्यमय जस्तो देखिएको बताए।  उनले गलत सूचना दिने जिल्ला प्रहरी कार्यालयका एस पि , सूचना फाँटका प्रहरी निरीक्षक र हिरासत हेर्ने गार्ड तिनै जनालाई विभागीय कारबाही हुने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.