|
Photo : barcablaugranes.com

काठमाडौं : बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले सन् २०१२ को एकै क्यालेण्डर वर्षमा ९१ गोल गर्दै विश्व कीर्तिमान कायम गरे। त्यतिबेला उनले बार्यन म्युनिख तथा जर्मन राष्ट्रिय टोलीका लिजेण्ड गेर्ड मुलरले सन् १९७२ मा ८५ गोल गर्दै बनाएको कीर्तिमान तोडेका थिए। बार्सिलोना मेसीमा केन्द्रित थियो। क्लबका लिजेण्ड रोनाल्डिन्हो विदा भइसकेका थिए। नेयमार, सुआरेजलगायतका खेलाडी बार्सिलोना भित्रिएका थिएनन्। यद्यपि मध्यक्रमबाट निकै आकर्षक पास निकाल्न माहिर जाभी, एनिस्टाजस्ता खेलाडीको साथ मेसीलाई थियो।

Photo : en.sportyou.com

सन २०१३/१४ को सिजनमा बार्सिलोनाले ब्राजिलियन युवा स्टार नेयमारलाई सान्तोषबाट क्लबमा भित्र्यायो। घरेलु लिगबाटै चर्चित युरोपेली क्लबहरुको नजरमा परिसकेका नेयमार बार्सिलोना भित्रिँदा स्टार नै बनिसकेका थिए। त्यतिबेला एउटा चर्चा खुबै चल्यो, भनियो- 'दुई स्टार एकै क्लबमा टिक्न सम्भव छैन।' मेसी र नेयमारको सहकार्य कस्तो रहला भन्नेमा धेरैको चासो थियो। त्यसको एक वर्षपछि उरुग्वेका स्टार स्ट्राइकर लुइस सुआरेज लिभरपुलबाट क्याम्प नाउ आए।

नेयमार र सुआरेजको आगमनपछि बार्सिलोना मेसीमा मात्र केन्द्रित नरहेर 'एमएसएन' (मेसी, सुआरेज र नेयमार) मा केन्द्रित बन्न पुग्यो। एमएसएनलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्ति भनियो। यी तीन स्टारको खेलमात्र उत्कृष्ट थिएन, मित्रता पनि हेर्नलायक रह्यो। एमएसएनको प्रसंशायोग्य साझेदारीको बलमा बार्सिलोनाले आफूले खेलेका हरेक प्रतियोगितामा उपाधि उचाल्यो।

यो मित्रतामा तीनै जनाको भूमिका महत्वपूर्ण थियो नै, तर क्लबको पुरानो तथा स्थापित स्टार हुनुका नाताले मेसीको भूमिका अहम रह्यो। डिबक्समा आफैँले गोल हान्न सम्भव हुने बलसमेत पासमा उपलब्ध गराएर होस् या फ्रिकिक र पेनाल्टी शेयर गरेर तथा पेनाल्टी नै पास दिएर किन नहोस्। २०१२ ताका मेसीको खुट्टाबाटै प्राय जाली चुम्ने बलहरु एमएसएनमा बाँडिए। जसले क्लबलाई त फाइदा भयो नै, तर मेसीको गोल संख्या भने घट्यो। २०१२ को जस्तो रेकर्ड ब्रेकिङ सिजन दोहोरिएन।

सन् २०१७/१८ (जारी सिजन) मा नेयमारले मेसीसहित बार्सिलोनालाई विदाइको हात हल्लाए। मित्रता त अझै सुमधुर रहेको बताइन्छ, तर नेयमारले मेसीको छायाबाट मुक्त हुन खोजेको तथ्य कसैबाट लुकेको छैन। त्यही महत्वपूर्ण कारण हो, जसले नेयमारलाई फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुर्‍याएको छ। मेसीविना एक्लै चुनौती सामना गर्न नेयमार पिएसजीमा आबद्ध भएका छन्। उनको अबको लक्ष्य च्याम्पियन्स लिग र बालोन डि'ओर हुनेछ।

नेयमार गएपछि बार्सिलोना निकै कमजोर भएको महसुस गरियो। नगरियोस् पनि किन, घरेलु राइभल रियल मड्रिडसँग लज्जास्पद् हार बेहोर्दै उसले स्पेनिस सुपर कपको उपाधि गुमायो। बार्सिलोनाको यो हारपछि गेरार्ड पिकेले भने, 'क्लबमा आबद्ध भएको ९ वर्षयता पहिलोपटक हामी रियल मड्रिडभन्दा कमजोर रहेको महशुस भयो।' पछिल्ला केही वर्ष रियलमाथि पटक-पटक हावी भएको बार्सिलोना कमजोर बनेको पिकेले मात्र होइन, आम फुटबलप्रेमी दर्शकले महसुश गरे।

त्यसपछि सुरु भएको ला लिगा र च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाको प्रदर्शनले फेरि धेरैलाई गलत साबित गरिदिएको छ। जसमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् उनै स्टार मेसीले। लिगामा ३ खेलको समाप्तिमा १ गोल पनि नखाई शतप्रतिशत जित दर्ता गरेको बार्सिलोनाले अंक तालिकामा रियललाई ४ अंकले पछि पारिसकेको छ। लिगा र च्यम्पियन्स लिगमा बार्सिलोनाले यस सिजन गरेका कुल १२ गोलमध्ये ७ गोल (ह्याट्रिकसहित) मेसी एक्लैले गरेका छन्। बाँकी केही गोलमा मेसीकै भूमिका महत्वपूर्ण छ। यसबाट प्रस्ट हुन्छ, मेसी फेरि पुरानै लयमा फर्किएका छन्। नेयमारको बहिर्गमनले मेसीलाई फेरि २०१२ मा जस्तै बार्सिलोनाको केन्द्रमा ल्याइदिएको छ।

Photo : goal.com

यसै सिजनबाट क्लब सम्हालेका अर्नेस्टो भाल्भर्डेले बार्सालाई फेरि एकपटक मेसीमा केन्द्रित गराएका छन्। बोरुसिया डर्टमुण्डबाट यसै सिजन क्लब भित्रिएका उस्मान डेम्बेलेले क्याटलान लयमा अभ्यस्त हुन बाँकी छ। उनले बार्सिलोनाका लागि करिब ९० मिनेटमात्र खेलेका छन्।

च्याम्पियन्स लिगमा युभेन्टसलाई मेसीकै २ गोलको मद्दतमा ३-० ले पराजित गरेपछि प्रशिक्षक भाल्भर्डेले भनेका छन्, 'मैले मेसीविरुद्ध धेरै पटक संघर्ष गरेको छु, अहिले म आफूलाई भाग्यमानी ठान्छु, मेरो टिममा मेसी छन्।' मेसीलाई जुनसुकै पोजिसनमा खेलाउँदा पनि उनले गोल गर्ने भाल्भर्डेले बताए।

यस्तै युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पनि मेसीको प्रशंसा गर्दै उनकै कारण आफूहरुले खेल हारेको बताए। 'हामीले मेसीलाई नजिकबाट नियन्त्रणमा राखेनाैँ, अथवा फल गरेनौँ। जब तपाईं मेसीलाई स्वतन्त्र छाड्नुहुन्छ, उनले त गोल गर्छन् नै।'

अब बार्सिलोना र भाल्भर्डेका सामु मेसीलाई क्लबमा राखिरहने चुनौती छ। उनले क्लबसँगको सम्झौता अझै नविकरण गरेका छैनन्। यही अवस्था रहिरहे मेसी आगामी सिजन जुनसुकै क्लबमा आबद्ध हुनका लागि स्वतन्त्र रहनेछन्।

उता उनका पुराना प्रशिक्षक पेप ग्वार्डिओला मेसीलाई म्यान्चेस्टर सिटीमा स्वागत गर्न आतुर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.