भन्छन्– २२ वर्ष हलिया बस्दा पनि ब्याज मात्र चुक्ता भयो

|

डडडेल्धुरा : गन्यापधुरा गाँउपालिका–२ का नरबहादुर लुहार हलियामुक्त घोषणा भएको नौ वर्षपछि मुक्त भएका छन्। २२ वर्षदेखि साहुको हलो जोत्दै आएका गन्यापधुराका लुहार मंगलबार मात्रै हलिया मुक्त भएका हुन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दुईपक्षीय सम्झौता गरी मंगलबार लुहारलाई मुक्त गरेको हो। लुहारले यही भदौ २२ गते २२ वर्षदेखि हलिया राख्ने सोही ठाउँका विष्णुराज ओझाविरुद्ध जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा उजुरी दिएका थिए। 

सोही उजुरीका आधारमा जिल्लका प्रशासन कार्यालयले दुई पक्षलाई बोलाई हलिया मुक्त गरिएको  प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए। ‘अब पनि लुहारलाइ हलो जोताए कडा भन्दा कडा कारबाही हुन्छ’ भट्टले भने ।

‘बुबाले २०५१ सालमा १० हजार ऋण लिए थिए’ लुहारले भने, ‘ मैले १० हजार गरी जम्मा २० हजार लिएको थिएँ।’ विगत २२ वर्षदेखि ब्याजको रूपमा  साहुको खेतमा होलो जोत्दै आएको उनले बताए।

‘२२ वर्षदेखि हलो जोते ऋणको ब्याज मात्र कट्टा भयो’ उनले भने ‘तर ऋण भने उस्ताको उस्तै घरमा खान लाउन मुस्किल छ’, उनले दुखेसो पोखे, वर्षौ काम गर्दा पनि ऋण सकिएन। केही सिप नलागेपछि प्रशासनमा उजुरी दिएको हुँ।’

हलो जोत्ने कामबाट छुटकरा पाएपछि अब  ज्यालामा काम गर्ने उनको योजना छ। जिल्ला मुक्त हलिया समाजको सहयोगले आफूले छुटकरा पाएको उनी बताउँछन्। गाउँमा अझै  २२\२३ परिवार हलिया रहेको उनी बताउँछन्।

यता जिल्ला मुक्त हलिया समाजका अध्यक्ष तुलाराम सार्की परिचय पत्र नपाउँदा सम्म यसलाई पूर्णरूपमा मुक्त भन्न नमिल्ने बताउँछन्। ‘अब यताबाट मन्त्रालयका सिफारिस पठाउँछौं’, उनले भने, ‘मन्त्रालयबाट परिचय पत्र आएपछि मात्र नरबहादुरको परिवार कानुनी रूपमा मुक्त हुन्छन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.