८१ करोडबढी बजेट पायो त्रियुगा नगरपालिकाले

|

उदयपुर : जनप्रतिनिधिहरुको पहिलो त्रियुगा नगरसभाले त्रियुगा क्षेत्रमा  मादक पदार्थ तथा सुर्तीजन्य वस्तुमा रोक लगाउने योजना ल्याएको छ। मंगलबार सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनपछिको पहिलो नगरपरिषले यस्तो कार्यक्रममा ल्याएको हो। नीति तथा कार्यक्रममा ऐतिहासिक धार्मिक क्षेत्रको पाँचसय मिटर आसपासमा मादक पदार्थ तथा सुर्तिजन्य पदार्थहरुको बिक्री वितरणमा रोक लगाइने भएको छ।

‘१८ वर्ष भन्दा मुनिका बालबालिकालाई धुम्रपान र मदिरा सेवन तथा बिक्रि वितरणमा पूर्ण निषेध गरिन्छ,’ त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले नीति तथा कार्यक्रम सार्वजानिक गर्दे भने, ‘मादक पदार्थ र धुम्रपान सेवन गर्ने र बिक्री वितरण गर्नेलाई समेत दण्ड जरिवान गर्ने कानुन बनाइने छ।’

उनका अनुसार मदिरा बिक्री वितरण गर्न निश्चित समय र स्थानहरु तोकिने भएको छ। यस्तै, अर्को महत्वाकांक्षी योजना रहेको फ्री वाइफाई। प्रविधीमा लगानी शिर्षकमा इन्टरनेटको पहुँच त्रियुगा नगर क्षेत्रमा सहज बनाइने भएको छ। सार्वजानिक स्थलहरुमा फ्रि इन्टरनेट उपलब्ध गराइने भएको जानकारी दिइएको छ।

त्रियुगानगरको बजेट ८१ करोडबढी

त्रियुगा नगर कार्यपालिकाले आर्थिक वर्ष ०७४/७५ का निम्ति ८१ करोड ११ लाख ७६ हजार २ सय १३ रुपैयाँको बिनियोजन गरेको छ। जसमा चालुतर्फ ३४ करोड ७२ लाख ५ हजार र पुँजीगततर्फ ४६ करोड ३९ लाख ७१ हजार २ सय १३ रुपैयाँ रहेको छ।

कुल बजेटको चालुतर्फ ४२.८० प्रतिशत र पूँजिगत तर्फ ५७.२० प्रतिशत रहेको छ। चालु खर्चमा नेपाल सरकारबाट वित्तिय समानीकरणको लागि सशर्त अनुदान (कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य ) तर्फको २४ करोड ६६ लाख र सामाजिक सुरक्षातर्फको ७ करोड ५० लाख समेत समावेश गरिएको सार्वजानिक कार्यक्रममा जानकारी दिइएको छ। यसरी हेर्दा त्रियुगा नगर कार्यपालिकाको कार्यालय तर्फको चालु खर्च १० करोड ०६ लाख रहेको छ जुन कुल चालु खर्चको २८.९७ प्रतिशत र कुल बजेटको १२.४० प्रतिशत हुन आउँछ।

त्रियुगा नगरपालिकाको चालु आवमा आन्तरिक आय तर्फ २ करोड २० लाख अनुमान गरिएको छ। नगरपालिकाको कुल बजेटमा आन्तरिक आयको हिस्सा २.७१ प्रतिशत मात्र रहने  अनुमान गरिन्छ। त्रियुगा नगरपालिका स्थानीय तहमा रुपान्तरीत भए पश्चात १६ वडा वडालाई रु ७५ लाखका दरले वडागत योजनको लागि रु १२ करोड विनियोजन दिइएको छ। आर्थिक विकास तर्फ रु १ करोड १ लाख ५० हजार विनियोजन प्रस्ताव गरिएको छ।

जुन कुल विकास बजेटको २.१९ प्रतिशत हुन आउछ। यस कार्यक्रम अन्तर्गत वडागत कार्यक्रमका साथै पशु विकास तथा कृषी विकास समितिको समते वजेट समावेश गरिएको छ। पूर्वाधार विकास तर्फ रु २२ करोड ६९ लाख ५५ हजार विनियोजन प्रस्ताव गरेको छु। जुन कुल विकास बजेटको ४८.९२ प्रतिशत हुन आउछ। यस कार्यक्रम अन्तर्गत वडागत कार्यक्रम सिंचाई कार्यक्रम, म्याचिङ्ग फण्ड, नगरस्तरीय योजना तथा कार्यक्रम समावेश गरिएको छ।

वातावरण तथा विपद व्यावस्थापन तर्फ २ करोड ४३ लाख ८५ हजार विनियोजन प्रस्ताव गरेको छु। जुन कुल विकास बजेटको ५.२६ प्रतिशत हुन आउछ। यस कार्यक्रम अन्तर्गत वडागत कार्यक्रम, वन तथा वातावरण कार्यक्रम, वातावरण मैत्री साथै विपद व्यवस्थापनको रकम विनियोजन गरिएको छ।

स्थागत विकास तर्फ ६ करोड ९१ लाख ४६ हजार विनियोजन प्रस्ताव गरिएको छ। जुन कूल विकास वजेटको १४.९० प्रतिशत हुन आउछ। यस कार्यक्रम अन्तर्गत वडागत कार्यक्रम, संघसंस्था सहयोग, गुरुयोजना तयारीलगायत नगरपालिकाका नियमित कार्यक्रमहरु सरसफाई, वारुणय्रन्त्र संचालन, सडक वत्ती, मर्मत संभार कोष लगायत समावेश गरिएको छ।

सामाजिक विकासतर्फ १३ करोड ३३ लाख ३४ हजार बजेट विनियोजन प्रस्ताव गरेको छु। जुन कुल विकास बजेटको २८.७४ प्रतिशत हुन आउँछ। यस नगरपालिका क्षेत्रको विनियोजीत वजेटमा पूर्वाधार विकास पछि यस सामाजिक विकासमा दोस्रो बजेटको हिस्सा ओगटेको छ। यस कार्यक्रम अन्तर्गत वडागत कार्यक्रमको साथै स्वास्थ्य, शिक्षा, महिला विकास, मठमन्दिर, खानेपानी कार्यक्रमहरुमा थप बजेटको व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.