|

काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर अर्को म्युजिक भिडियो ‘मै मरिजाउँला’ रिलिज गरेको छ। स्थापनाको २५ वर्ष पुगेको अवसरमा ब्याण्डले आफ्ना स्रोता तथा दर्शकलाई यो वर्षभरि नयाँ म्युजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो।

‘मै मरिजाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’खोजी गरिएको थियो। नेपथ्यले आफ्नो आधिकारिक युट्युव च्यानल सञ्चालन गरेपछि अपलोड गरिएको यो आठौं म्युजिक भिडियो हो।

‘संगीतकर्मी र उसका श्रोता बीचको पहुँचलाई पछिल्लो समय युट्युबले अत्यन्त सहज बनाइदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘परम्परागत माध्यमहरुको अन्त्यसँगै त्यसभन्दा बेग्लै किसिमले उदाएको संगीतको यो नयाँ संवाहकले नयाँ र पुराना सबै कलाकारहरुलाई आफ्ना श्रोतासँगको सम्बन्ध नयाँ किसिमले विकास गर्ने अवसर दिएको छ।’

हेर्नुस् गीत

‘मै मरिजाउँला’ तामाङ सेलोमा आधारित गायन हो जसका शब्दहरुले पछिल्लो समय वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनका वेदनालाई बोकेको छ। आफन्त छाडेर विरानो देसमा जाने कतिपय युवाहरुले त फेरि फर्केर परिवारको अनुहार पनि देख्न पाउँदैनन्। त्यही पीडामा आधारित गीतमा भनिएको छ :

‘मै मरि जाउँला... जीवन छोटो छ

लेखेको सम्झना, च्यातेर नफाल

सिरानमा फोटो छ, सिरानमा फोटो छ’

यसको म्युजिक भिडियोलाई ‘सिम्पल लिरिक भिडियो’ का हिसाबले तयार पारिएको छ। अहिलेको अन्तर्राष्ट्रिय म्यूजिक भिडियो तयार पार्ने यो आधुनिक ट्रेण्ड हो। यसमा कमिक्समा चित्रहरुबाट पात्र र घटना वर्णन गरिएजस्तै दृश्यका माध्यमबाट गीतका भावलाई प्रस्तुतगर्न खोजिएको छ ।

‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेलमा पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको यति समयपछि म्युजिक भिडियो बनेर युट्युब मार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.