काठमाडौं : सार्वजनिक सवारी साधनमा आवतजावत् गर्दा महिलाहरुलाई अनावश्यकरुपमा छुने, गलत नजरले हेर्ने तथा यस्तै प्रकारका यौनहिंसा गर्ने त गर्नुभएको छैन? छ भने होसियार! तपाईं चढ्नुभएकै सवारी साधनमा सादा पोसाकका प्रहरी पनि हुन सक्छन्।
सार्वजनिक सवारीमा महिलामाथि हुने यौनजन्य हिंसा नियन्त्रण गर्न र महिलाहरुले सुरक्षित तबरले आवतजावत् गर्ने वातावरण बनाउन प्रहरीले अभियान नै सुरु गरेको छ। 'सेफ्टी पिन' नाम दिएर गत साउन १८ गतेदेखि सुरु भएको अभियानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ७१ जनालाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए।
३३ वटा टोली बनाएर खटिएका प्रहरीले काठमाडौंबाट ६१ तथा ललितपुर र भक्तपुरबाट ५/५ जनालाई पक्राउ गरेको छ। त्यसमध्ये यौनजन्य दुर्व्यवहार र अपशब्द प्रयोग गरी गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
यसमध्ये २४ गम्भीर प्रकृतिका गतिविधि गर्ने २४ जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको तथा बाँकी ४७ जनालाई त्यस्ता गतिविधि नदोहर्याउने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले जानकारी दिए। 'घटनाको प्रकृति हेरेर गम्भीर खालका घटनामा संलग्नलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएका छौँ, बाँकीलाई सम्झाएर यस्ता घटना नदोहोर्याउने सर्तमा आफन्तको जिम्मा लगाएका छौँ,' प्रवक्ता जोशीले थाहा खबरसँग भने।
यस्ता गतिविधिमा १५ देखि २५ वर्षसम्मका किशोर तथा युवा बढी संलग्न रहेको पाइएको छ। त्यसमध्ये धेरै ३८ जना सामान्य लेखपढ गर्ने र १ जना स्नातकोत्तर उत्तीर्ण गरिसकेका व्यक्तिसमेत छन्। यसक्रममा ८ जना पाकेटमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
के हो सेफ्टी पिन अभियान?
'सेफ्टी पिन अभियान' सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणका लागि प्रहरीले सुरु गरेको विशेष अभियान हो। यस्ता किसिमका घटनाको प्रतिकारमा महिलाले सेफ्टी पिनको प्रयोग गर्ने गरेको यथार्थलाई नै प्रहरीले अभियानको नाम दिएको एसएसपी जोशीले बताए।
'पहिले-पहिले महिलाहरुले आफूमाथि हुने यौन हिंसाको प्रतिकारमा सेफ्टी पिनले घोचिदिने गरेको सुनिन्थ्यो, हामीले त्यसैलाई प्रतिकात्मकरुपमा लिएर सेफ्टी पिन अभियान सुरु गरेका हौँ,' एसएसपी जोशीले भने।
यस प्रकारका हिंसामा सम्बन्धित महिलाले उजुरी नदिए पनि प्रहरीले कारबाही अघि बढाउने उनले बताए। 'कतिपय महिलाले इज्जत, प्रतिष्ठा वा विभिन्न असहजताका कारण पनि उजुरी दिने गरेका छैनन्,' उनले भने, 'यस्तो अवस्थामा हामीले देखेकै आधारमा कारबाही अघि बढाउने गरेका छौँ।' विशेषगरी यात्रुहरुको चाप बढी हुने रुटमा सादा पोसाकका प्रहरी खटिएका छन्।
यस्ता हिंसाको सिकार भएमा प्रहरी हटलाइन १०० वा ९८५१२८९१११ मा खबर गर्नसमेत सकिने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।