|

बाँके :  दसैँ र तिहार मनाउन भारतबाट घर फर्किने नेपालीको सुरक्षा र सहयोगका लागि नेपाल–भारत सीमानाका जमुनहामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले उद्घाटन गरेपछि यात्रु सहायता कक्षबाट सेवा प्रारम्भ भएको छ। चाडपर्व मनाउन भारतबाट फर्किने नेपाली हरेक वर्ष लुटिने, कुटिने र ठगिने भएपछि बाँके प्रहरीले जमुनहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी केसीले चाडपर्व मनाउन आउने नेपालीलाई ठगिन र लुटिनबाटा जोगाएर सुरक्षित रुपमा घर पुग्ने वातावरण मिलाउन प्रहरीलाई निर्देशन दिए। उनले कोही पनि नेपाली लुटिने र ठगिन नहुने बताए। दुख गरेर कमाएको रकम र ज्यानको सुरक्षाका लागि प्रशासन तयार रहेको बताउँदै उनले लुटिने र ठगिने ठाउँ तथा अपराधमा संलग्न ब्यक्तिको पहिचान गरी सुरक्षा व्यवस्था मिलाउन सुझाव दिए।

दसैँ र तिहारको बीचमा वर्षेनी १५–२० जना नेपाली लुटिने र ठगिने गरेका छन् । भारतबाट चाडपर्व मनाउन घर आउँदै गरेका नेपालीहरुलाई लठ हुने औषधी खुवाएर लुटिने गरेका छन्। रुपइडिहा र नेपालगन्जमा रिक्सा तथा होटल ब्यवसायीबाट समेत ठगिने र लुटिने गरेको प्रहरीले जनाएको छ । 

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले चाडपर्व मनाउन आउने नेपालीको सुरक्षाका लागि प्रहरीले उचित व्यवस्था मिलाएको बताए। उनले भारतमा ठगिन र लुटिनबाट जोगाउन भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिएको बताउँदै भारतमा बर्दी बिनाका प्रहरी परिचालन गरिएको बताए। उनले नेपालमा ठगिन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गरिएको समेत जानकारी दिए।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्रराज पौडेलले काम गरेर चाडपर्व मनाउन आउने नेपालीको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

रुपइडिहा थानाका प्रमुख आलोक रायले भारतमा नेपाली लुटिने गरेको बताउँदै यसलाई रोक्न आफूले सक्दो सहयोग गर्ने बताए। उनले भारतीय प्रहरीबाट ठगिने गरेको गुनासो आफू कहाँ आएको भन्दै आफू मातहतका प्रहरीलाई सचेत गराउने पनि बताए। ‘भारतमा नेपाली लुटिने क्रम जारी छ, लुट्नेलाई कारवाही र लुटिन नदिन प्रहरी परिचालन गर्छु,’ रायले प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.