|

काठमाडौं : कपनको बालुवाखानीस्थित राममन्दिरलाई देब्रे पारेर केही पर पुग्दा टिनले छाएका घरहरु देखिन्छन्। ती घरमा म्यानमारबाट लखेटिएका रोहिंग्या समुदायका शरणार्थी बसोबास गर्दै आएका छन्। 

उनीहरु सन् २०१२ यता कपनस्थित बालुवाखानीमा बस्दै आएका छन्। पहिले सानो संख्यामा बंगलादेशबाट भारतको बाटो हुँदै नेपाल आएका उनीहरुको संख्या दिनदिनै बढ्दै छ। म्यानमारमा सेनाले रोहिंग्या समुदायमाथि बल प्रयोग गरेर घर छाड्ने अवस्था सिर्जना गरेपछि उनीहरु देश छाडेर बाहिरिएका छन्। केही समय यता म्यानमारमा रोहिंग्या समुदायमाथि ज्यादती बढेपछि कपनका शिविरमा पनि शरणार्थीको संख्या बढेको छ। 

म्यानमारमा विभिन्न समयमा अल्पसंख्यक रोहिंग्या समुदायमाथि सरकारी सेनाले ज्यादती गरेपछि उनीहरु बंगलादेश, भारत र नेपाल लगायत देशमा शरणार्थी जीवन बिताइरहेका छन्। पछिल्लो तीन सातायता मात्रै म्यानमारको अल्पसंख्यकको रुपमा रहेको रोहिंग्या समुदायका ३ लाख भन्दा बढीले देश छोडेर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका छन्।

बुधबार दिउँसो १ बजेतिर कपनस्थित शिविरमा पुग्दा भिरालोमा रहेका लगभग ७० घरहरु सुनसान थिए। सडकदेखि तल रहेका घरहरुको लहर खोलासम्मै पुगेको छ भने नयाँ घरहरु पनि थपिइरहेका छन्। पुराना घरहरुदेखि केही पर भने हरियो टिनले छाएका नयाँ ६ वटा घर बनेका छन्। जुन रोहिंग्या शरणार्थीका लागि बनाइएका हुन्। ती घरहरु सबै बन्द अवस्थामा थिए।

पत्रकारसँग नबोल्न युएनएचसीआरको उर्दी

शरणार्थीहरुसँग कुराकानी गर्नका लागि शिविरमा जान खोज्दा बाटोमा २ जना देखिए। उनीहरुलाई हामी आउनुको उद्देश्य बताएपछि केही हच्किए। उनीहरुले संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्त (यूएनएचसीआर) को काठमाडौं महाराजगञ्जमा रहेको कार्यालयले पत्रकारसँग बोल्न रोक लगाएको बताए।

उनले भने, 'हामीलाई अफिस (महाराजगञ्ज) मा बोलाएर मिडियासँग नबोल्न भनेको छ, मिडियाका मान्छे आए भने हाम्रो अफिसमा पठाउनु भनेको छ तपाईंहरु उतै जानुस्।' सन् २०१२ मा उक्त शिविरमा आएको बताउने उनले भने, 'उसले कार्ड दिएको छ त हामीले उसले भनेको कुरा मान्नुपर्‍यो।'

पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदायमाथि ज्यादती बढेपछि नेपालमा रहेका रोहिंग्या समुदायबारे पनि नेपाली सञ्चार माध्यमहरुले पनि समाचारहरु प्रकाशन/प्रशारण गरेका थिए। तर अहिले राष्ट्रसंघीय निकायले नै बोल्न रोक लगाएको भन्दै उनीहरुले कुराकानी गर्न मानेनन्। 

बाटो छेउकै शरणार्थी शिविरमा पस्दा केही युवाहरु मोबाइलमा भिडियो हेरिरहेका थिए। ५-६ जनाको संख्यामा रहेका उनीहरु पनि बोल्न तयार भएनन्। 'तपाईहरु जानुस्' मात्रै भनिरहे। युएनएचसीआरले पत्रकार आए महाराजगञ्जस्थित अफिसमा पठाउन आग्रह गरेको उनीहरुको भनाइ थियो।

के गर्छन् शरणार्थीहरु?

शरणार्थी शिविरका बालबालिकाहरु कोही सडकमा खेलिरहेका थिए भने कोही शिविर वरीपरी बसिरहेका थिए। उनीहरु मध्येका एक बालकले भने हिजो अस्ति मात्रै ७ जना नयाँ शरणार्थी थपिएको बताए। उनले भने, 'मान्छे देख्यो भने 'हामीलाई बचाउ'मात्रै भन्छन्, उनीहरुको शरीरभरी घाउ छ।'

शरणार्थी शिविरमा बस्ने रोहिंग्या समुदायका अधिकांश मानिसहरु ज्यालादारी काम गर्न गएका थिए। शिविरमा भएकाहरु पनि छाप्रोभित्रै बसेका थिए। बाहिर केही महिला र बालबालिका मात्रै देखापरे। नेपालमा शरणार्थी शिविरमा बसिरहेका उनीहरु बालुवा ओसार्ने र सिमेन्टको काम गर्छन्। केहीले भने काठको काम पनि गर्छन्। शरणार्थी शिविरका सबैले भने काम पाएका छैनन्। काम नपाउनेहरु पनि शिविरभित्रै बसिरहेका हुन्छन्। 

हेर्नुस् शरणार्थी शिविरको थप फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.