विचार

रुपचन्द्रका सात रोचक प्रसंग
SHARES

पुस २६, २०७४

    समय गतिशिल छ, र समाज पनि। हिजोका कुराहरु आजसम्म आइपुग्दा इतिहास भइसक्छन्। समयले विभिन्न परिस्थितिको सिर्जना गर्छ र ती परिस्थितिले जन्माउँछन् पात्रहरु।

    पञ्चायतकाल नेपाल र नेपालीले भोगेको एउटा परिस्थिति थियो, जहाँ जनताको नाममा शासन चलाई जनतालाई नै शोषण गर्ने काम गरियो। त्यो इतिहासको एउटा अँध्यारो कालखण्ड थियो। तर समयले त्यो परिस्थितिमात्रै जन्माएन, परिस्थितिसँग भिड्न तम्तयार पात्रहरु पनि जन्मायो। तीनैमध्येका एक पात्र थिए- रुपचन्द्र। जसले राष्ट्रिय पञ्चायतमा छिरेर पञ्चायतकै विरुद्ध धावा बोले। उनले पञ्चायती कुशासनको खरो आलोचनामात्र गरेनन्, मान्छे जगाउन थाहा आन्दोलनसमेत चलाए।
    रुपचन्द्र भन्थे-

    'जिविकामात्र खोजिरहेका मान्छेहरुको मनस्थितिमा एक विद्रोह गर्न,

    कहाँ सूर्यबहादुर- कहाँ रुपचन्द्र! एउटा सक्रिय राजतन्त्रको शक्तिशाली प्रधानमन्त्री, अर्को छाप्रे ब्यूँताउन हिंडेको झुत्रेझाम्रे! स्वभाविक हो, रुपचन्द्रको कुरा सूर्यबहादुरलाई रुचिकर भएन।

    तिमी त मान्छे पो हौ त- भनेर सम्झाउन,

    उसको विरोधमा- उसैको हजुरमा

    एक उजुर हो- थाहा।'

    तिनै रुपचन्द्र बिष्टका केही रोचक प्रसंगहरुः

    आँफैलाई किन कुकुर भन्थें!

    २०३८ सालको कुरा।

    राष्ट्रिय पञ्चायतको बैठक चल्दै थियो। रुपचन्द्र बिष्टको बोल्ने पालो आयो। उनले भने- 'मुखमा राजा, देश र व्यवस्था लेखिएका तर जनताको अधिकार तथा विकासलाई भुक्ने-टोक्ने कुकुरहरु हाम्रा मुख्य राजनीतिक समस्या हुन्।'

    बस् के थियो, बैठकमा हल्लाखल्ला सुरु भयो। राष्ट्रिय पञ्चायतका सदस्य हिरालाल विश्वकर्मा मञ्चमै गएर उप्रिmए। 'अध्यक्ष्यज्यू, रापस सदस्यहरुलाई कुकुर भन्न पाइन्छ-' बिष्टले रापस सदस्यहरुलाई कुकुर भनेकोमा उनको खास आपत्ति थियो।

    विश्वकर्माले बिष्टले आफ्नो बोली फिर्ता नलिएसम्म बैठक अघि बढाउन नहुने अडान राखे।

    यता रुपचन्द्रले पनि जिरह गरे- 'म आँफै रापस हुँ। आफैंले आफैंलाई किन कुकुर भन्थें।'

    तर विश्वकर्मा मान्नेवाला थिएनन्। उनको रिस हेर्न लायक थियो। अन्ततः सभापति कमल शाहले रुपचन्द्रलाई आफ्ना शब्द फिर्ता लिन आदेश दिए। पञ्चायत सदस्यको नाताले रुपचन्द्र पनि सभापतिको आदेश मान्न बाध्य भए।

    'मैले बोलेका शब्दहरु हो! तिमीहरुको काम सकियो। ल फिर्ता आओ!'

    भन्नुपर्ने कुरा भनिसकिएको थियो, सुन्नुपर्नेले सुनिसकेको थियो। रुपचन्द्रले आफ्ना शब्द यसरी फिर्ता लिए।

    शब्द फिर्ता लिने रुपचन्द्रको तरिका देखेर बैठक हाँसोले गुञ्जायमान भयो।

    रुपचन्द्रको कुरै बुझिदैन

    पञ्चायतकालकै कुरा।

    सूर्यबहादुर थापा प्रधानमन्त्री थिए।

    रुपचन्द्र बिष्ट र सूर्यबहादुरको भेट भएछ। रुपचन्द्रले 'देश कसरी सपार्ने' भन्नेबारे केही कुरा राखेछन्।

    कहाँ सूर्यबहादुर- कहाँ रुपचन्द्र! एउटा सक्रिय राजतन्त्रको शक्तिशाली प्रधानमन्त्री, अर्को छाप्रे ब्यूँताउन हिंडेको झुत्रेझाम्रे! स्वभाविक हो, रुपचन्द्रको कुरा सूर्यबहादुरलाई रुचिकर भएन।

    कुराकानीको अन्त्यमा थापाले भनेछन्, 'तपार्इँको कुरा केही पनि बुझिन बिष्टज्यू!'

    रुपचन्द्रले आफ्ना कुरा राख्ने र सूर्यबहादुरले बुझिन भन्ने क्रम केहीबेर दोहोरिएछ।

    बस् के थियो, रुपचन्द्रलाई झोंक चलिहाल्यो। उनको पालो- गोजीवाट दश रुपैयाँको नोट झिकेछन् र थापातर्फतेर्स्याएछन्। 'यो रु. दश लेखेको त देखियो होला नि! मान्छेहरु आजकल यैमात्र बुझ्छन्। देश सपार्ने कुरा के बुझ्थे! पैसो बुझ्छन् -कुरो बुझ्दैनन्!'

    रुपचन्द्रलाई झोंक चलिहाल्यो। उनको पालो- गोजीवाट दश रुपैयाँको नोट झिकेछन् र थापातर्फ तेर्स्याएछन्। 'यो रु. दश लेखेको त देखियो होला नि! मान्छेहरु आजकल यैमात्र बुझ्छन्। देश सपार्ने कुरा के बुझ्थे! पैसो बुझ्छन् -कुरो बुझ्दैनन्!'

    रुपचन्द्रको रिस देखेर सूर्यबहादुर हेरेको-हेर्‍यै भए।

    भोजमा गएका रुपचन्द्रले मुक्का खाए

    २०३९ साल।  

    फेरि सूर्यबहादुरकै पालाको कुरा।

    खडेरीका कारण देशको विभिन्न स्थानमा अनिकाल फैलिएको थियो। प्रधानमन्त्री थापा जिम्मेवारीबाट बिमुख भएको भन्दै रुपचन्द्र छेडछाड गरिरहन्थे।

    त्यस्तैमा एक दिन प्रधानमन्त्रीले विधायक सदस्यहरुका लागि रात्रीभोजको आयोजना गरे। उक्त भोज होटल याक एण्ड यतिमा आयोजना गरिएको थियो। भोजमा उच्चकोटीको विदेशी मदिरा र

    नाचगानको पनि व्यवस्था गरिएको थियो। रुपचन्द्र बिष्ट पनि विधायक सदस्य भएको नाताले कार्यक्रममा सामेल भए।

    तर उनले खाना खाएनन्- मुक्का खाए।

    प्रधानमन्त्रीका सहोदर भाई तथा प्रमुख राजनीतिक सल्लाहकार हरेन्द्रबहादुर थापालाई भोजका निम्तालुहरुलाई नचाउन मन लागेछ। उनले पशुपतिसमसेर राणा, प्रकासचन्द्र लोहनीलगायतलाई उठाएर गानाबजानामा सामेल गराए। उनीहरु थपडी बजाई-बजाई गीत गाउन थाले। एउटा कुनामा बसेका रुपचन्द्र यो सब दृश्य विरक्त मान्दै हेरिरहेका थिए। हरेन्द्रबहादुर रुपचन्द्र भएको ठाँउमा गई उनलाई पनि तान्न थालेछन्।

    तर रुपचन्द्र डेग चलेनन्। बरु भने, 'जब यो भुइँ-आकास नाँच्छ, जब भित्ता नाँच्छ, जब साराका सारा नेपाली नाँच्छ, अनिमात्र रुपचन्द्र नाँच्छ।'

    हरेन्द्रसहित उनका र्समर्थकहरुले अपमानित भएको महसुस गरे। रिसाउनमा जनकपुरबाट मनोनित पञ्चायत सदस्य रुद्र गिरी हरेन्द्रबहादुरभन्दा पनि अघि देखिए।

    'क्रान्तिकारी हुन खोज्ने!' गिरी रुपचन्द्रमाथि मुक्का उज्याउँदै जाई लागिहाले।

    भोजको माहोल बिथोलियो।

    अब सबैको चासो रुपचन्द्रतिर थियो। उनले अब के गर्लान् भनेर सबैले कौतुक दृष्टिले हेरे। रुपचन्द्र थिए- हट्टाकट्टा र खाईखाँदा। नियमित शारीरिक अभ्यासका कारण शरीर निकै खँदिलो थियो। रुद्र गिरीजस्ता १२-१५ जनालाई एक्लै तह लगाउन सक्थे।

    भोजमा उपस्थित सबैले सोचे- अब गिरी गए।

    तर रुपचन्द्र हाथापाईमा उत्रिएनन्। गिरीनजिकै गए र भने, 'मैले त्यो मुक्काको जवाफ दिने ठाँउ त्रि्रो शरिरमा कतै पनि देखिन।'

    रुपचन्द्र भोज छाडेर भोकै बाहिरिए।

    अन्तर्वार्ताका लागि धरौटी

    रुपचन्द्र बिष्ट हत्तपत्त पत्रकारहरुलाई अन्तर्वार्ता दिंदैनथे। पत्रिका कसले चलाएको हो- पत्रिका जनमूखि छ छैन ख्याल राख्दथे। चित्त बुझे कुरा गर्थे, चित्त नबुझे अस्वीकार गर्दथे।
    २०४८ सालको कुरा। पत्रकार देवप्रकाश त्रिपाठी साप्ताहिक विमर्शमा काम गर्थे। एक दिन उनी अन्तर्वार्ता लिने उद्देश्यले रुपचन्द्रको कालिमाटीस्थित निवासमा पुगेछन्।

    'किन आईस्-' रुपचन्द्रले सोधे।

    'अन्तर्वार्ता लिन।' त्रिपाठीले भने।

    तर रुपचन्द्रले साप्ताहिक विमर्शलाई अन्तवार्ता दिन इन्कार गरे। भनेछन्- 'तँ भाते आइस् भन्दैमा शत्रुदासका पनि दासहरुले चलाएको पत्रिकामा मैले अन्तर्वार्ता दिन मिल्दैन। जुन दिन आफैं सम्पादक हुन्छस्, त्यो दिन आइज।'

    त्रिपाठीले जति कोशिस गर्दा पनि रुपचन्द्रलाई अन्तर्वार्ताको लागि मनाउन सकेनन्।

    कालान्तरमा तीनै त्रिपाठी जनमञ्च साप्ताहिकको कार्यकारी सम्पादक भए। त्रिपाठीलाई लाग्यो- रुपचन्द्रले अन्तवार्ताको लागि राखेको शर्त अब बाधक रहेन।

    उनी उत्साहित हुँदै फेरि कालिमाटी पुगे। भने- 'म जनमञ्चको कार्यकारी सम्पादक भएँ। अब त कुरा गर्न मिल्छ होला नि!'

    तर रुपचन्द्रले फेरि त्रिपाठीलाई निरास पारे। भनेछन्, 'मुलुकको राजश्व छल्ने, मानिसहरुलाई जुवामा भिडाएर आँफू मोज गर्ने विदेशीले चलाएको पत्रिकामा तँ सम्पादक भइस् भन्दैमा मैले अन्तर्वार्ता दिन मिल्दैन।'

    जनमञ्च साप्ताहिकमा त्यतिखेर अमेरिकी नागरिक आरडी टटलको संलग्नता थियो जो क्यासिनो नेपालका सञ्चालक थिए।

    रुपचन्द्रको कुरा सुनेर त्रिपाठीलाई पनि झोंक चलेछ।

    'त्यसोभए चोर, डाँका, लुच्चा, फटाहाहरु पनि बास बस्ने गरेको पृथ्वीमा हामी बस्नुभएन नि! सबैले थुक्ने गरेको पृथ्वीमा हामीले टेक्नु पनि भएन।' त्रिपाठीले बिष्टलाई मनाउने हरसम्भव कोशिस गरेछन्, 'अखबार सञ्चालनमा जसको पैसा परे पनि तपाईंको नाममा छापिने चिज शुद्ध भए भइहाल्यो नि!'

    तर अहँ, रुपचन्द्र टसको मस भएनन्।

    'मलाई तर्कवितर्क गर्नु छैन। भन्ने कुरा भनिसकें। बुझ्ने-नबुझ्ने तेरो कुरा। विदेशी दलालले चलाएको अखबारमा तैंले जतिपटक भने पनि मैले अन्तर्वार्ता दिन मिल्दैन।'

    रुपचन्द्र गल्ने भए पो!

    पत्रकार त्रिपाठी दोस्रोपटक निरास भई फर्किएछन्।

    २०५२ सालमा भने त्रिपाठीले आफ्नै पत्रिका सुरु गरे- घटना र विचार। अब भने उनी फूर्तिसाथ रुपचन्द्रकहाँ जान सक्ने भए। सोही साल जेठको मध्यतिर फेरि उनी रुपचन्द्र कहाँ गएछन्। त्रिपाठी स्यमंले पत्रिका सञ्चालन गरेको थाहा पाएर रुपचन्द्र खुशी भए रे। उनी अन्तर्वार्ताको लागि तयार पनि भए। तर उक्त अन्तर्वार्ताका लागि पत्रकार त्रिपाठीले २ हजार रुपैयाँ धरौटी राख्नुपर्‍यो- तोडमरोड गरी अन्तर्वार्ता छापेमा जफत हुने सर्तमा।

    उक्त अन्तर्वार्ता २०५२ असार ७ गते प्रकाशित घटना र विचारको पहिलो अंकमा प्रकाशित भयो।

    आफ्ना कुरा नबिगारी छापिदिएपछि रुपचन्द्रले अन्तर्वार्ता प्रकाशित भएको केही दिनमै धरौटी फिर्ता गरे।

    रुपचन्द्र र घरभाडा

    काठ्माडौं कालिमाटीमा रुपचन्द्र बिष्टको भव्य घर थियो- ५ तलाको। तर रुपचन्द्र उक्त घरमा बस्दैनथे। घर अगाडि एउटा कटेरो हालेर त्यसैमा बस्ने गरेका थिए। घरको एउटा फ्ल्याट भाडामा दिएका थिए।

    पत्रकार त्रिपाठीले सोधे, 'कति आँउछ भाडा-'

    'सुरुमा भाडामा दिइएको हो, तर अहिले कुरामा फरक पर्न गयो।' रुपचन्द्रले कुराको पोयो खोले, 'कालीमाटीकै एक होटर मजदुरले मसँग फ्याट भाडामा लियो। सुरु-सुरुमा समयमै भाडा बुझायो पनि। तर पछिल्ला महिनाहरुमा भाडा दिने काम निकै अप्ठ्यारो र ढिलोसँग हुन थाल्यो। पछि बुझ्दै जाँदा उसको पारिश्रमिक नै मलाई भाडा बुझाउन ठिक्कजस्तै हुँदोरहेछ। श्रीमती र छोराछोरीलाई खानपिन र पठनपाठनका लागि खर्च जुटाउन निकै मुस्किल पर्ने गरेको देखियो। आफ्नो न्यूनतम खर्च पनि नराखेर भाडा तिर्दोरहेछ। मलाई अलिकति रिस पनि उठ्यो, नसकी-नसकी भाडा तिर्ने भनेर। अनि मैले भन्दिएँ- आइन्दा भाडा नतिर्नू!'

    'कहिलेसम्म भाडा नलिने त-' त्रिपाठीले सोधे।

    'जहिलेसम्म ऊ भाडा तिर्न सक्ने हुँदैन।'

    उक्त मजदुर परिवार बिष्टको घरमा लामो समयसम्म बस्यो।

    म बहुलाएँ, यी बहुलाउँदैछन्

    अहिलेको माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकास र गिरिराजमणी पोख्रेलले २०५४ सालतिर गर्जन नामक साप्ताहिक पत्रिका प्रकाशन गर्ने गर्थे। वामपन्थी विचार र विश्लेषणको लागि उक्त पत्रिका प्रसिद्ध थियो।

    अन्तर्वार्ता गर्ने उद्देश्यसहित पत्रकारद्वय श्रेष्ठ र पोख्रेल एकदिन रुपचन्द्रको घर पुगेछन्।

    'संगठन किन बनाउनुहुन्न- बलियो जनशक्ति तयार पार्न संगठन आवश्यक छ जस्तो लाग्दैन-' पत्रकारद्वयले सोधे।

    'संगठन! संगठन गर्न खोज्यो भने जहिले पनि चोर, डाँका लुच्चा-लाच्चीहरुको फेला परिन्छ। कुनै न कुनै चोरका हातमा साङ्लोको एउटा टुप्पो र तेरो घाँटीमा त्यो साङ्लोको अर्को टुप्पो पर्छ। कोशिस नगर्नु संगठनलाई। संगठन- हुने कुरा हो, हुन दिनू। आवश्यक परेमा जनता आँफै संगठित हुन्छन्।' राजनीतिक संगठनबारे रुपचन्द्रको विचार यस्तो थियो।

    'थाहाको परिभाषा मार्क्सको भौतिकवादसँग सम्बन्धित छ कि-' श्रेष्ठ र पोख्रेलले सोधे।

    'जति सत्यहरु परिचित छन्, त्यो परिचित सत्य थाहा हो। तर सत्य परिचित छैन भने पनि त्यो सत्य भइरहन्छ, तर हामीलाई थाहा हुँदैन। अब योभित्र के के परे के के परेनन्- आँफै विचार गरे थाहा पाइन्छ। थाहाभित्र जम्मै पर्छन्। मार्क्सवादमात्र होइन मार्क्सवादको विरोधीवाद पनि थाहाभित्रै पर्छ।'

    'त्यसोभए मार्क्सवादबारे तपार्इँको धारणा के त-' श्रेष्ठ र पोख्रेलको जिज्ञासा अझै शान्त भएको थिएन।

    'सबैभन्दा विकसित वाद, सबैभन्दा शान्तिपूर्णवाद र सबैभन्दा व्यापक वाद हो- गान्धीवाद।' रुपचन्द्रले भने, 'तर बल प्रयोग गर्ने सरकार र व्यवस्था भएको तथा शान्तिमा सीमित नरहने ठाउँ र स्थितिमा उपयुक्त हुन्छ- मार्क्सवाद।'

    रुपचन्द्रको अन्तर्वार्ता चलिरहेकै बेला उक्त कक्षमा कोही तेस्रो व्यक्तिको प्रवेश भएछ। सायद रुपचन्द्रकै कोही आफ्न्त थिए। उक्त व्यक्तिसँग पत्रकारद्वय श्रेष्ठ र पोख्रेलको परिचय गराउने क्रममा रुपचन्द्रले भनेछन्- 'श्रमजिवीहरुको पक्षमा लागेर मचाहिँ पूरै बहुलाएँ। यी दुई जनाचाहिँ बहुलाउने बाटोमा छन्।'

    जति जागे- फटाहालाई काम लागे

    रुपचन्द्र आफ्नो जीवनको अन्तिम समयमा निकै विरक्तिएका थिए।  

    'मान्छे आकारका तर पशु प्रकारले बाँचिरहेको मान्छेभित्र मान्छे जगाउने प्रयत्न गर्न थाहा आन्दोलन चलाएँ। तर या त मान्छे जाग्दै जागेनन्, जे-जति जागे लुच्चा-फटाहलाई नै काम लागे।' उनी भन्थे।

    त्यही बेला उनलाई दम, मृगौला र मुटुसम्बन्धी समस्याले एकैपटक घात गर्‍यो। सहयोगीहरुले उनलाई राम्रो अस्पताल लान खोजे। तर रुपचन्द्र मानेनन्। देशका गरिबहरुले उपचार पाउने वीर अस्पताल जान चाहे। त्यहीँ उपचाररत् रहँदा २०५६ असार ७ गते ६५ बर्षो उमेरमा उनको निधन भयो। यसरी श्रमजिवीहरुको पक्षमा जीवन अर्पिएको एक जोदाहा सदाका लागि अस्तायो।

    पत्रकार कृष्णज्वाला देवकोटाले नवआवाज साप्ताहिकमा 'जीवनको विन्यास खोज्ने यी सन्यासी स्वरुपे!' शीर्षकमा मार्मिक लेख लेखे।
    '.....झुटका पुलिन्दाहरुलाई सत्यको गाता हालेर बेचिने देशमा सत्य थाहा पाउन लडेको योद्धा थियो त्यो। रगतले तैरिएका सिंहासनहरुलाई थुक्दै न्यायको आगो चोर्न हिंडेको प्रमिथस थियो त्यो। नरभक्षी संस्कारका प्रत्येक जरा उखेलेर इतिहासको हिसाब खोज्न तम्सिएको थियो, जीउँदो लास हुन अस्विकार गर्दै जीवनको अर्थ र औचित्य अन्वेषण गर्न हिंडेको तपस्वी थियो त्यो। मान्छेका आँसुले किनिएका सत्ताको वैभवलाई थुक्ने त्यो रुदाने सुन्दर र स्वस्थ समाजको निर्माण गर्न खोज्ने कसी थियो। संसाररुपी क्यानभासमा समताको रङ्ग पोत्न चाहने कलाकार थियो त्यो। मान्छेका मध्यरातका चिसा सुस्केराहरुको कविता लेख्ने कवि थियो त्यो। क्रान्तिको भूकम्प डाकेर जीर्ण संसारलाई भत्काई सुन्दर संसारको निर्माण गर्न खोज्ने स्वप्नदर्शी थियो त्यो। त्यो त मुर्दाहरुको देशमा वहिस्कृत भएको जीउँदो मान्छे थियो।......'

    सर्न्दर्भ स्रोत
    १. थाहाः रुपचन्द्र बिष्ट स्मारक समितिद्धारा प्रकाशित पुस्तक
    २. सांसद रामनारायण विडारीसँगको कुराकानी
    ३. पत्रकार देवप्रकास त्रिपाठीसँगको कुराकानी

    Twitter: @pawanrajpaudel

     

    (२०७३ भदौ २ गतेको सामग्री पुन प्रकाशित : सम्पादक)

पवनराज पौडेल

पत्रकार पौडेल थाहा संचार नेटवर्कको स्टेशन म्यानेजर हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]