|

कालिकोट : नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेडले फुकोट कर्णाली जलविद्युत् आयोजनास्थलको निरीक्षण सर्भे सुरु गरेको छ। आयोजनाको कामलाई छिटो र छरितो संचालन गर्नका लागि प्राविधिक टोली आयोजनास्थलको निरीक्षण र सर्भे गरेको हो। ४ सय २६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्राविधिक टिमले आयोजना निर्माणस्थलको अनुगमन निरीक्षण गरेको हो।

नलगाड जलविद्युत् आयोजनाका वरिष्ठ इन्जिनियर रामकाजी थापा, नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेडका इन्जिनियरहरु हिरामान वाइबा, मनोज बराल र दीपकराज श्रेष्ठ सहितको प्राविधिक टिमले आयोजनाको ड्याम निर्माणस्थल र पावर हाउस निर्माणस्थलको अनुगमन, निरीक्षण र सर्भे गरेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘आयोजना निर्माणको जिम्मा पाएको कम्पनीले आयोजनास्थलको निरीक्षण तथा ड्याम साइट पावर हाउस निर्माणस्थलको अवलोकन गरेको छ।’

कालिकोटका फुकोटमा ड्याम निर्माण गरेर आगामी ६ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो आयोजनाको सरकारले ल्याएको ‘पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत निर्माण सुरु हुने रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘सरकारले पानी जनताको लगानी कार्यक्रमअन्तर्गत यो आयोजना निर्माण हुन लागेको हो।’ उनले भने, ‘स्थानीय र नेपाल सरकारको लगानीमा यो आयोजना अगाडि बढ्ने छ।’

फुकोट आयोजनाको कामलाई ऊर्जा मन्त्रालयले प्राथामिकतामा राखेको र आयोजना चाँडै निर्माण हुने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए। ‘आयोजनाको काम चाँडै गर्ने तयारी गरेका छौं।’ उनले भने, ‘आयोजनाको सर्भे लगायतका काम भइरहेको छ।’ आयोजनाको सर्भेपश्चात त्यहाँको वातावणीय मूल्यांकन लगायतका अध्ययन अवलोकलन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

फुकोट कर्णाली आयोजनाको अध्ययन भइरहेको र यसको लागत लगायतका अन्यका कामका लागि पहिलो चरणको अध्यायन सुरु भएको पहिलो चरणको आयोजना सर्भेका फुकोट कर्णाली आयोजनास्थल पुगेको नलगाड जलविद्युत् आयोजनाका वरिष्ठ इन्जिनियर रामकाजी थापाले बताए। ‘पहिलो चरणमा अध्ययन सर्भेको काम सुरु भएको छ।’ उनले भने, ‘थप काम दसैंतिहारपछि मात्र सुरु हुन्छ।’

जलविद्युत् आयोजना निर्माणका केन्द्रीय प्रसारण लाइन जोड्नका लागि ठेक्कासमेत नेपाल विद्युत प्राधिकरण खोली सकेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइनका लागि ठेक्काको आह्वानसमेत गरिसकेको छ।’ उनले भने, ‘यी सबै काम फुकोट आयोजनाका लागि भएका हुन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.