बिरामीका आफन्त र अस्पतालबीचको वार्तामा सहमति भएन

|

काठमाडौं :  नाकमा समस्या देखा परेपछि गुल्मी मदाने गाउँपालिका ४ कि कमला भट्टराई गत शनिबार काठमाडौंको ओम अस्पतालमा भर्ना भइन्। उनलाई डाक्टरले पिनास बिग्रेको भन्दै शल्यक्रिया गर्नुपर्ने सुझाव दिए।

'नाकको माइनर (सामान्य) शल्यक्रिया हो समस्या पर्दैन' भर्ना हुने क्रममा डाक्टरले उनलाई भनेका थिए। उनलाई तीन दिनमै घर फर्कन सक्ने पनि बताएका थिए। उनले डाक्टरको भनाइ अनुसार नै तीन दिन अस्पतालमा बस्नुपर्ने परिवारलाई गराइन्। तर त्यही सामान्य भनिएको शल्यक्रियापछि उनको मृत्यु भयो।

मंगलबार राती नै उनको मृत्यु भएपछि अस्पताल प्रशासनले बुधबार दिउँसो परिवारका सदस्यलाई भट्टराईको मृत्युबारे जानकारी गरायो। परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै बुधबार दिउँसो अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

गत शनिबार नाकको शल्यक्रिया (अपरेसन) को क्रममा गलत औषधी चलाउँदा भट्टराईको मृत्यु भएको आफन्तको आरोप छ। 'नाकमा सामान्य समस्या भए पछि यहाँ ल्याइएको थियो, डाक्टरले अपरेसन गर्नुपर्छ भनेपछि भर्ना गर्‍यौं, तीन दिनमा सञ्चो हुन्छ भनेका थिए तर, हिजोराति नै उहाँको मृत्यु भयो, अस्पतालले भने आज मात्रै घोषणा गर्‍यो''  मृतकका आफन्त गुन्जन भट्टराईले भने।

अस्पतालको लापरबाही र गलत औषधि चलाएका कारण विरामीको मृत्यु भएको उनको भनाइ छ। मृतकका आफन्तले अपरेसन गर्दाको भिडियो देखाउनुपर्ने, अपरेसन गर्ने डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

अस्पतालले भने बिरामी डिस्चार्ज हुने समयमा अचानक हृदयघात भएर मृत्यु भएको दावी गरेको छ। ओम अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले नाकको अपरेसनका क्रममा केही बिरामीलाई सेफ्टिसेमिया इन्फेक्सनको समस्या देखिने बताए। यसले बिरामीको मटु र कलेजोमा असर गर्ने र विरामीको मृत्यु पनि हुने सम्मभावना रहने भन्दै भट्टराईलाई पनि त्यस्तै समस्या देखिएका कारण हृदयघात भएको दावी गरे।

 उनले भने 'अपरेसन सामान्य रुपमा नै सफल भएको थियो, तर उहाँलाई सेफ्टिसेमिया भन्ने इन्फेक्सन भयो, यस्तो खालको इन्फेक्सनले मुटु कलेजो र मिर्गौलामा छोटो समयमा गम्भीर असर गर्छ र विरामीको मृत्यु पनि हुने गर्छ, यही खालको इन्फेक्सले उहाँलाई असर गरेपछि अचानक ह्दयघात भएर मृत्यु भएको हो।'

यसै घटनालाई लिएर अस्पताल र विरामी पक्षबीच बुधबार दिउँसो भएको वार्तामा सहमति हुन नसकेपछि स्वास्थ्य मन्त्रालयका टोलीसहित पुन वार्तामा बस्ने तयारी भएको निर्देशक डा. गौतमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.