राजनीति

निर्वाचनमा भोजभतेर गरे उम्मेदवारी नै रद्द: प्रमुख निर्वाचन आयुक्त
SHARES

‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो, कारवाही गर्न मिल्दैन’

भदौ २८, २०७४

    काठमाडौँ: प्रमुख निर्वाचनआयुक्त डा. अयोधीप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्।

    ‘उम्मेदवारहरूले भोजभतेर गरेर चुनावी प्रचार प्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिनेछौँ’, प्रमुख निर्वाचन आयुक्त यादवले बुधबार रिपोर्टर्स क्लवको साक्षात्कारमा भने, ‘चुनावमा उम्मेदवारले व्यापक खर्च गरिरहेको प्रमाण अहिलेसम्म फेलापारेका छैनौँ।’ उनले यदि कसैले फोटोसहित प्रमाण दिए तत्काल कारवाही गर्ने चेतावनी पनि दिए।

    प्रमुख आयुक्त यादवले मधेसमा अहिले सामाजिक–साँस्कृतिक पर्व जितिया चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोज भतेरलाई अन्यथा लिन नहुने बताए।
    उनले उम्मेदवारहरूले खर्च गरेको भए ती उम्मेदवारहरूलाई समेत पहिचान गरेर आयोगलाई सूचना दिन सञ्चारकर्मीहरूसँग आग्रह गरे । यादवले भने, ‘तर अहिले जनता सम्पन्नतातिर लम्कँदै छन्, सबै धनी हुनु त राम्रो हो, धनी भइसकेपछि प्रतिष्पर्धा हुनु स्वाभाविक हो।’

    निर्वाचन आचारसंहिता जारी भएको अवस्थामा सरकारले हालै गरेको मन्त्रिपरिषद् बिस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारवाही गर्न नमिल्ने स्पष्ट पारे। ‘के गर्नु प्रधानमन्त्रीलाई कारवाही गर्नुभएन, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यति हो’, उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन, तर यसको मतलव यो होइन कि आयोग निरीह भयो।’

    प्रधानमन्त्रीले अहिले संक्रमणकालीन अवस्था भएकाले मन्त्रिपरिषद् विस्तार गर्नु बाध्यता भएको बताएका थिए। प्रमुख आयुक्त यादवले पनि प्रधानमन्त्रीले हालै विराटनगर विमानस्थलमा पत्रकारहरूसँग सो विषयमा प्रष्ट पारेपछि आयोगले अघि बढेर विवाद गर्न नचाहेको स्पष्ट पारे।

    निर्वाचन आचारसंहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टीकरणसमेत मागिएको उनले बताए। यादवले आयोगले आचारसंहिता छिटो नलगाएको दाबी गरे। ‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिनअघि मात्रै आचारसंहिता लगाएका छौँ, निर्वाचनको मिति घोषणा भए पनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो', उनले भने, 'संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ।’

    उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँग जोडेर नहेर्नसमेत उनले आग्रह गरे। ‘२० वर्षपछि निर्वाचन हुँदै छ, मतदाताहरू ज्यादै उत्साही हुनुहुन्छ, उहाँहरूले होलीको पर्व जस्तो, रङ र अवीर लगाएर उत्साह मनाइरहनुभएको छ',यादवले भने, 'आचारसंहिता पनि उल्लंघन भएका घटनाहरू आइरहेका छन्, तर हामीले कडाइका साथ नियमन गरिरहेका छौँ।’

    अधिकांश अधिकृतहरू निर्वाचन क्षेत्रमा पुगेको स्मरण गराउँदै यादवले भने, ‘२९, ३० र ३१ गते मतदाता परिचयपत्र लिन आउनेलाई उचित शिक्षा दिन हाम्रा साथीहरू लागिरहनुभएको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]