|

एजेन्सी : मुस्लिम मले अल्पसंख्यक हलिम याकुव सिंगापुरको पहिलो महिला राष्ट्रपति बनेकी छिन्। ६३ वर्षीया याकुव यसअघि संसदको सभामुख थिइन्। 
राष्ट्रपतिका प्रत्यासी रहेका अन्य ४ मध्ये दुई उम्मेदवार मले समुदायका थिएनन् भने अन्य २ उम्मेदवार सलाह मरिकान र फारिद खान अयोग्य ठहर भएका थिए।

सिंगापुरको संवैधानिक नियमअनुसार राष्ट्रपतिको उम्मेदवार रहेका निजी क्षेत्रका व्यक्तिले कम्तिमा पनि ५ सय मिलियन सिंगापुर डलर बराबरको पुँजी रहेको कम्पनीको नेतृत्व गरेको हुनुपर्छ। यस नियममा सलाह र फारिद पर्न सकेनन्। 

अन्य दुई उम्मेदवार भने मले समुदायबाट नभएका कारण राष्ट्रपतिका लागि लायक भएनन्। सिंगापुरमा ४७ वर्षपछि आदिवासी मले समुदायका व्यक्ति राष्ट्रपति भएकी हुन्। 

अधिकारीहरुले यसपटक राष्ट्रपति बन्नका लागि मले समुदायका व्यक्तिलाई मात्रै अवसर दिएका थिए। ५५ लाख जनसंख्या रहेको सिंगापुरमा जातिय एकता जगाउनका लागि यस्तो निर्णय गरिएको हो। सिंगापुरमा आदिवासी चिनियाँहरुको बाहुल्यता छ। 

राष्ट्रपतिका अन्य ४ आकांक्षीहरु मापदण्डभित्र पर्न नसकेपछि याकुवले चुनावको सामना गर्नुपरेन। उनले बिहीबार आफ्नो सपथ लिने कार्यक्रम छ। राष्ट्रपति बनेपछि याकुवले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएकी छिन्। उनले बहुसांस्कृतिक र बहुजातिय राष्ट्र सिंगापुरका लागि यो गर्वको क्षण रहेको बताइन्। 

यस अवसरलाई कतिले ऐतिहासिक क्षणका रुपमा लिएका छन् भने कतिले प्रजातान्त्रिक प्रक्रियाको कमी भएको भन्दै आलोचना गरेका छन्। ‘म सबैको राष्ट्रपति हुँ। सबै जाति, भाषा, धर्म र अस्था राख्नेहरुको। निर्वाचन नभएपछि तपाईहरुलाई सेवा गर्ने मेरो प्रतिबद्धता उस्तै रहनेछ,’ याकुवले भनेकी छिन्। 

सिंगापुरमा राष्ट्रपति संवैधानिक रुपमा सबैभन्दा माथि हुन्छन्। तर प्रधानमन्त्री वा मन्त्रीले जस्तो कार्यकारी अधिकार भने राष्ट्रपतिसँग हुँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.