|

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा धमिरा लागिसकेकाले चाँडै धरासायी हुने बताएका छन्। सत्तारुढ दल र मन्त्रीहरु भ्रष्टाचारमा डुबेको भन्दै उनले यसले ठूला दलहरुको विश्वसनीयता घट्दै गएको पनि टिप्पणी गरे।

थापाले नेपाल आयल निगम जग्गा खरिदमा निगमका महाप्रबन्धक मात्रै नभएर मन्त्री र ठूला दलका नेताको समेत संलग्नता रहेको आरोप लगाए। राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल भेलालाई पोखरामा सम्बोधन गर्दै उनले आयल निगमको भ्रष्ट्राचरा दिनहुँ सञ्चार माध्यममा आउँदा पनि सरकार कानमा तेल हालेर बसेको बताए।

कार्यक्रममा निर्वाचन आयोग सत्तामा रहेका दलहरुको लाचार छायाँ बनेको थापाले आरोप लगाए। 'निर्वाचन आयोग दिनहुँ विज्ञप्ति मार्फत आचारसंहिता मिचियो भन्छ,’ उनले भने, ‘तर आचारसंहिता मिच्नेमा सबैभन्दा पहिले मन्त्रीहरु छन्।’  उनले भने निर्वाचन आयोगलाई कसैले नटेरेको पनि टिप्पणी गरे।

पार्टी विभाजनको प्रसंगमा थापाले नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना नहोस् भन्ने मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको आरोप लगाएका छन्। राप्रपालाई कमजोर बनाउन लागि परेकाहरुलाई परास्त गर्दै राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित हुने दावी पनि गरे।

पार्टी विभाजनमा पशुपतिशम्सेर राणा केवल मोहरा मात्र भएको बताउँदै अध्यक्ष थापाले केही भ्रष्ट र सत्ता लोभीहरूको क्षणिक स्वार्थपूर्ति भए पनि विभाजित पार्टी दिगो नहुने बताए। पार्टी विभाजनबाट विचलित नभई आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.