|

धनकुटा : झापाको बिर्ता युनाइटेड क्लबले जिल्ला सदरमुकाम धनकुटामा भइरहेको १३ औं सहिद भीमनारायण अन्तर्राष्ट्रय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेडले सुनसरीको गोधुली क्लबलाई  टाइब्रेकरमा ४–१ ले हराउँदै सेमिफाइनल यात्रा गरेको हो। प्रतिस्पर्धात्मक खेलमा दोर्जेे तामाङले गोल गर्दै गोधुली क्लबलाई अग्रता दिलाएका थिए। 

दोस्रो हाफको २६ औं मिनेटमा कर्ण लिम्बुले पेनाल्टीमार्फत बिर्ताका लागि बराबरी गोल फर्काए। त्यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल सिधैं टाइब्रेकरमा पुग्यो। 

टाइब्रेकरमा बिर्ता युनाइटेडबाट कर्ण लिम्बू, बुद्ध चेम्जोङ,रभी थापामगर, सुमिन मैनालीले गोल गरे। गोधुलीबाट निराजन खड्काले मात्र गोल गर्न सके। सुनसरीका सुशील राईले गरेको प्रहार बाहिरएको थियोे भने दोर्जे तामाङले गरेको प्रहार बिर्ताका गोलकिपर दिनेश थापा मगरले रोकेका थिए। 

विजयी टोलीका सुमिन निरौला म्यान अफ दि म्याच घोषित भए। उनलाई धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले पुरस्कृत गरे। प्रतियोगिता अन्तर्गत बिहीबारबाट सेमिफाइनल खेलहरु सुरु हुनेछन्।

बिहीबार ब्वाइज युनियन क्लब, काठमाडौं र बेलबारी क्लब, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ। बेलबारी क्लबले आयोजक धनकुटालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने ब्वाइज युनियन वाई पाएर सिधै सेमिफाइनलमा प्रवेश गरेको हो। 

आगामी ३१ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले गोल्डकप सहित नगद एक लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। 

नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ। विराटनगरमा राजा विरेन्द्रमाथि बम हानेको आरोपमा पक्राउ परेका श्रेष्ठको २०३५ सालमा तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो। सरकारले श्रेष्ठलाई करिब एक वर्षअघि मात्रै राष्ट्रिय सहिद घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.