|

काठमाडौं : सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ। यो कुनै प्राविधिक विज्ञले गरेको दाबी नभई सरकारले नै पुष्टि गरी सार्वजनिक गरेको नमुनाबाट सम्भव रहेको प्रमाणित भएको हो। 

गत महिना अर्थात् २०७४ साउन २५ गतेको नेपाल राजपत्र खण्ड ६७ सङ्ख्या २० को भाग ३ मा प्रकाशित नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचनाअनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा प्रयोग भएको विद्युतीय सङ्केताङ्क चिह्न पाटी प्राविधिक रूपमा सम्भव रहेको हो। नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची­ २ मा हेरफेर गरी विद्युतीय सङ्केताङ्क चिह्न पाटी विवरण र नमुना नेपाल राजपत्रमा सार्वजनिक गरेको हो। 

संविधानविपरीत कार्य
नेपाल सङ्घीय गणतन्त्र रहने गरी २०७२ असोज ३ गते जारी नेपालको संविधानअनुरूप संविधान कार्यान्वयनको क्रममा यस्तो परिवर्तन हुन लागेको हो। तर, सरकारले यसरी सङ्केताङ्क चिह्न पाटी परिवर्तन गर्दा संविधानको धारा ७ को प्रतिकूल कार्य गरेको छ। संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ। तर यस व्यवस्थाविपरीत अनुसूचीमा रोमन लिपिलाई सरकारी कामकाजको भाषा बनाएको छ। 

पहिले अञ्चलका आधारमा रहेका सङ्केताङ्क चिह्न पाटी परिवर्तन गर्दा प्रदेशका आधारमा हुनुपर्नेमा त्यसो नगरी अञ्चलकै आधारमा दर्ता गर्ने व्यवस्था छ । तर, प्रदेशको निर्वाचन भई नामकरण भएपछि भने प्रदेशकै आधारमा दर्ता हुने व्यवस्था पनि गरिएको छ। यद्यपि यो कार्य अहिलेलाई थाती राखिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.