|
तस्विर– नयाँ पत्रिका

काठमाडौं : डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ।

१ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो। त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो । त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए। वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ।

उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन् । उनीहरूसहित अन्य ५० जनालाई डा। जाफरले नेटवर्किङको तालिम दिएका थिए। नेपालमा हजारौँले वानक्वाइन खरिद गरिसकेको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ।

वानक्वाइनको वेबसाइटका अनुसार यसको मुख्य कार्यालय बुल्गेरियामा छ। त्यस्तै दुबईलाई केन्द्र बनाएर यसको कारोबार हुने गरेको छ। दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका छन्। अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरू यसबाट ठगिएका हुनसक्ने अनुमान छ। वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेका छन्।

ठूला होटलमा अड्डा
ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारे होटललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन्। काठमाडौं र विभिन्न सहरका तारे होटलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन्। यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटलमा ठगको गिरोह बस्न छाडेका छन्। 

देशभर नक्कली क्रिप्टोकरेन्सीको जालो 
विभिन्न स्रोतबाट पाइएको जानकारीअनुसार मुलुकका अधिकांश भागमा पुगेर ठगहरूले नक्कली र गैरकानुनी क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेका छन् । मुलुकका ठूला सहरमा मात्रै होइन, साना–साना बजार केन्द्रसम्म पुगेर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेका छन् । अहिलेसम्म ठगहरूले मुलुकभित्र र बाहिरका नेपालीबाट अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंक स्रोतको छ ।

ठगी गर्न सोसल साइटको प्रयोग
नक्कली क्रिप्टोकरेन्सीमार्फत ठगी गर्नेले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने गरेका छन् । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाललाई ठगहरूले यी क्वाइनको मार्केटिङ गर्ने थलो बनाइरहेका छन्। फेसबुक र ट्विटरमा दर्जनौँ पेज, ग्रुप, एकाउन्ट र ह्यान्डल प्रयोग गरी अवैध क्रिप्टोकरेन्सीको मार्केटिङ गर्ने गरिएको छ। ठगहरू सोसल साइटमा विभिन्न विज्ञापन गर्ने मात्रै होइन, लगानीकर्तासँग अन्तरक्रियासमेत गर्ने गरेका छन्।

जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार
गत १३ जेठमा नेपालगन्जको ह्वाइटहाउस रिजेन्सी होटेलमा ग्र्याभिटी सक्सेस सेमिनार आयोजना भयो। बिहान ९ बजेदेखि ४ बजेसम्म आयोजना भएको सेमिनारमा ‘अन्तर्राष्ट्रिय लाइफ कोच’ भनिएका छम गुरु, जीपी पौडेल र मुस्कान नेपालीले सम्बोधन गरेका थिए। पश्चिम क्षेत्रका सय लिडरले भाग लिएको कार्यक्रममा सहभागिताका लागि हजार रुपैयाँ लिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.