छापा

मधेसमा क्रान्तिको आधार खोज्दै वैद्यको 'देजमो'
SHARES

भदौ २९, २०७४

    काठमाडौं : प्रदेश २ मा २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन्। दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) भने क्रान्तिको आधारका लागि संगठन निर्माण अभियानका साथ निर्वाचन मैदानमा होमिएको छ।

    पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) अहिले प्रदेश २ का स्थानीय तहमा परिचालन भएको छ। क्रान्तिकारी माओवादीले प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा केन्द्रीय सचिवालय परिचालन गरेको छ।

    अहिलेको संविधान देश र जनतासँगै मधेसविरोधी भएको भन्दै त्यसको भण्डाफोर गर्दै देजमोका उम्मेदवारहरू प्रचारप्रसारमा छन्। ‘संविधान, सत्ता र व्यवस्थाको जनविरोधी चरित्रको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तार र क्रान्तिका लागि जनआधार तयार पार्न हामी चुनावी अभियानमा छौं,’ चुनावी अभियानका क्रममा महोत्तरीमा रहेका देजमोका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलले राजधानीसँग टेलिफोनमा भने,

    ‘पार्टीले स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको छ, त्यहीअनुरूप हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भयौं, तेस्रो चरणको निर्वाचनलाई समेत क्रान्तिकारी उपयोग गर्दैछौँ।’

    उनले पार्टीका कार्यकर्ताहरू गाउँगाउँमा चुनावी प्रचारसँगै भण्डाफोर अभियान चलाइरहेको बताए। प्रमुख तीन दलको संसदीय घेराबन्दीका बाबजुद आफूहरू स्वतन्त्र चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको उनको भनाइ छ। देजमोका उम्मेदवारहरू यतिबेला चुनावी प्रचारप्रसार गर्दै स्थानीय तहको समृद्धिको नारासँगै संविधानको विरोधमा भण्डाफोर अभियान चलाइरहेका छन्।

    ‘जनताले निर्वाचित गरे आफ्नो स्थानीय तहमा विकास निर्माणसँगै समृद्धिका लागि काम गर्नेछु, बजेटलाई पारदर्शी रूपमा कार्यान्वयन गर्दै हरिवन नगरपालिकालाई नमुना नगर बनाउनेछु,’ क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देजमोको तर्फबाट सर्लाहीको हरिवन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका बलराम न्यौपानेले भने, ‘निर्वाचनमा हारजित होला तर हामी हाम्रो एजेन्डालाई स्थापित गर्दै क्रान्तिका लागि नयाँ आधार तयार गर्न लागिरहेका छौं।’

    महोत्तरी जिल्लामा २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गर्ने अभियानको नेतृत्व तहमा रहेका उपेन्द्र यादव यतिबेला महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन्। ‘निर्वाचनमा जितका लागि मात्र होइन, हामी जनतालाई क्रान्तिको बाटोमा ल्याउन पनि होमिएका हौं,’ यादवले भने, ‘क्रान्तिकारी शक्ति अहिले पनि जनताको घरदैलोमा नै छ भनेर स्थापित गर्न पनि म चुनावमा होमिएको हुँ। हिजोको बहिष्कार पनि जनताको पक्षमा थियो। आजको क्रान्तिकारी उपयोग पनि जनताकै पक्षमा हो।’

    ‘कोदालो बोकेको किसान’ चुनाव चिह्नमा मत माग्दै गाउँगाउँमा पुगिरहेका यादव मधेसका किसानहरूको पक्षमा संविधान नभएको भन्दै भण्डाफोर गरिरहेको बताउँछन्। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा क्रान्तिकारी माओवादीको छोटेलाल पटेल चुनावी प्रतिस्पर्धामा छन्।

    ‘अहिलेको प्रतिकूल परिस्थितिमा मैले उम्मेदवारी दिनु नै नैतिक रूपमा मेरो जित हो, ठूला दलबाट उठेका व्यापारीहरू पैसाको बलमा प्रचारमा जुटेका छन्,’ पटेलले भने, ‘हामी उनीहरूको सिन्डिकेट तोड्दै अगाडि बढेका छौं, पर्सा वा वीरगन्जमा संसद्वादी पार्टीहरू मात्रै छैनन्, क्रान्तिकारीहरू पनि छन् भनेर यो निर्वाचनले स्थापित गर्नेछ।’

    स्थानीय तहको निर्वाचन क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन्। पार्टीका अध्यक्ष मोहन वैद्यले आगामी चुनावमा भाग लिने कि नलिने विषयमा आगामी २१ असोजदेखि पोखरामा हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट निर्णय लिइने बताए। यद्यपि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको निर्वाचनमा सहभागी हुन भन्दै पार्टीको चुनावी मोर्चा देजमोले निर्वाचन आयोगमा निवेदन दिएको छ।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]