|

काठमाडौं : असोज २ मा हुन लागेको  प्रदेश नं. २ मा स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार ३० र ३१ भदौमा मतदातालाई परिचयपत्र वितरण गरिनेछ। मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गर्नेछ। प्रदेशका दुई हजार एक सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ।

जनकपुरमा हेलिकोप्टर ‘स्ट्यान्डबाई’ 
निर्वाचनका क्रममा कतै समस्या भएमा थप सुरक्षाकर्मी लैजान जनकपुरमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने योजना छ। कुनै स्थानबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टर प्रयोग गर्न सकिने सेनाले जनाएको छ। आठ जिल्लाका एक सय ३६ स्थानीय तहको सुरक्षा व्यवस्था सहज रहेको निर्वाचन आयोगको भनाइ छ।

प्रदेश नं. २ को निर्वाचनमा करिब ६० हजार सुरक्षाकर्मी खटिनेछन्, जसमध्ये निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी हुनेछ। आठ जिल्लामा पहिलेदेखि नै करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १८ हजार थप गरिएको छ। त्यस्तै, १७ हजार सेना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले बताए। सैनिक चुनावी सुरक्षामा खटिन थालिसकेको उनको भनाइ छ। त्यस्तै, १५ हजार तीन सय ५० सशस्त्र प्रहरी खटिएका छन्।

मतदान सकिएलगत्तै मतगणना 
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी आयोगले गरेको छ । २ असोजको साँझबाटै मतगणना सुरु गर्न लागेको आयोगको भनाइ छ। बजारक्षेत्रका स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सहजै आइपुग्ने भएकाले मतगणना सोही दिन बेलुका सुरु गर्न आयोगले निर्देशन दिइसकेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.