|
www.scienceworld.in

दोलखा : जिल्लाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढेका छन्। भाइरल ज्वरोले बुढाबुढी र स–साना केटाकेटीलाई निकै असर पारेको स्वास्थ्य संस्थाहरूले जनाएका छन्। 

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५० र अरु स्वास्थ्य संस्थामा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको चिकित्सकहरूले बताए। प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले विगतका दिनमा भन्दा एक सातायता ५० भन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका बताए। 

ग्रामीण भेगमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले दिएको तथ्यांकमा अन्य समयमा भन्दा एक सातायता ७५ प्रतिशत उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन्। यता सामुदायिक अस्पतालमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोडी सेवा दिन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले निर्देशन दिइसकेको कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले बताए। 

'रुघाखोकी लाग्दा बाफ लिने, पर्याप्त मात्रामा झोलिलो कुरा खाने गर्‍यो भने भाइरस आफैँ घट्दै जान्छ', थोकरले भने, 'तर कुनै–कुनै अवस्थामा कामज्वरो आउने, धेरै ज्वरो आउने, तारन्तार खोकी लाग्ने, बेस्सरी छाती दुख्ने, स्याँस्याँ बढ्ने भयो भने भाइरल इन्फेक्सन, ब्याक्टेरिया इन्फेक्सन अथवा निमोनियामा परिणत भयो भन्ने बुझेर बिरामीलाई तत्काल अस्पताल लैजानु पर्छ।'

भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जिउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिने चिकित्सकहरूले बताएका छन्। लगातार तीन दिनसम्म उच्च ज्वरो आए डाक्टरको सल्लाहअनुसार एन्टिवायोटिकलगायतका औषधि सेवन गरी आराम गर्न उनीहरूले सुझाव दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.