|

  • सुनिता बराल

महोत्तरी : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको 'खोक्रो राष्ट्रवाद'ले देश नै खतरामा परेको बताएका छन्। महोत्तरीको बर्दिबासमा बुधबार साँझ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमालेले मिलेर बसेका नेपालीलाई फुटाउने काम गरेको आरोप लगाए। 'खोक्रो राष्ट्रवादले देश खतरामा परेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालले गरिरहेको छ।’

कांग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसले नै देशलाई समृद्ध बनाउने जिकिर गरे। ‘नेपाली कांग्रेसले कहिले पनि बन्द, हडताल, चन्दाअसुलीजस्ता जनता तर्साउने काम गरेको छैन,’ देउवाले भने, ‘देश कांग्रेसले नै समृद्ध बनाउँछ।’

स्थानीय निर्वाचनले जनतालाई नै मालिक बनाउने उनको भनाइ छ। ‘स्थानीय चुनावले जनतालाई मालिक बनाउँछ,’ उनले भने, ‘आफ्नो ठाउँको प्रतिनिधि आफैँले छान्न पाउने र विकास निर्माणको पहल गर्ने प्रतिनिधि जनताकै बीचमा हुने हुँदा निरन्तर खबरदारी गर्न पाउने जनता मालिक हुन्।’ 

साथै उनले तराई/मधेसको डुबानको समस्या समाधान गर्न आफूले भारतसँग कुरा गरेको भन्दै भारत समस्या सुल्झाउन प्रतिबद्ध रहेको जानकारी दिए। हुलाकी राजमार्गले तराई/मधेसलाई समृद्ध बनाउने उनको विश्वास छ।

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रामशरण महत, प्रदिप गिरी, गगन थापा लगायत नेताको पनि उपस्थिति थियो। आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको प्रचार/प्रसारका लागि नेताहरु मधेस झरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.