|
फोटोहरु : सागर गिरी

ठाकुरद्वारा (बर्दिया) : बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जीप सफारी चल्दै थियो। सफारीमा वन्यजन्तु फोटोग्राफर सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट विरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल, सवारी चालक देवेन्द्र शाही थिए।

दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपरान्ह ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो। सडकको १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटे बाघ।  जगत रिजालले एक्कासी बाघ लस्केको देखे। ‘टाईगर, टाईगर’, रिजालले संकेत गर्दै गाडी रोक्न भने।

घना झाडीमा विश्वकै दुर्लभ मानिएको भाले पाटे बाघ आराम गरेर बसिरहेको थियो। बाघ आफ्नै शुरुमा थियो। उसलाई डिस्टर्ब नगरेसम्म मान्छेलाई आक्रमण गर्दैन भन्ने सबैलाई थाहा थियो। सबै जनाले बाघको फोटो खिचे।

‘दुई घण्टाको अन्तरालमै बाघ भेटिनु ठुलो उपलव्धी हो,’ वन्यजन्तुको फोटो खिच्दै आएका ‘आई क्लिक फर कन्जरभेसन’का संस्थापक सागर गिरीले भने, ‘बर्दिया बाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो।’

सन् २०१३ को बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ ५० वटा भेटिएको थियो। गत साल मात्रै गरिएको आन्तरिक गणनामा बाघको संख्या बढेर ६२ पुगेको बताउँछन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा।

निकुञ्ज स्थित गेरुवा नदी तटीय क्षेत्र बाघका लागि व्यवस्थित बासस्थान  छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापा भन्छन्, ‘गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको समिश्रण छ, त्यसैले यहाँ बाघ सधैं हुन्छ।’ बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी (घुमफिर गर्ने क्षेत्र) बनाएर मिलेर बसेको थापाको भनाइ छ।

बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्रमध्ये बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्रि, किङफिसर लगायत क्षेत्रमा बाघ पाइन्छ। यो मध्ये अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने संरक्षणकर्मी जगत रिजाल बताउँछन्।

हुन त नेपालमै सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ। नेपालमा १९८ बाघ पाइएकोमा १२० बाघ चितवन निकुञ्जमा छ।  बर्दियामा ५०, बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ वटा बाघ रहेको सरकारी तथ्यांक छ।

पाटेबाघ विश्वमा २ हजार ५०० को हाराहारीमा रहेको तथ्यांक छ। नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ। नेपालमा आगामी मंसिर,पुसबाट राष्ट्रिय रुपमा बाघको गणना हुन लागेकाले बाघ अझै बढ्ने अनुमान गरिएको छ।

तर चितवनमा भन्दा बर्दियामा बाघ सहज रुपमा अवलोकन गर्न सकिन्छ। मुख्यगरी चितवनमा हात्तीलाई समेत ढाक्ने घाँस छ। त्यसमा बाघ सजिलै लुक्ने भएकाले मुश्किलले देखिन्छ।

‘बर्दियामा पानीको मुहान र उसको क्षेत्र निश्चित छ, त्यही क्षेत्रमै ऊ धुमिरहने हुँदा केही घण्टा कुर्‍यो भने भेटिन्छ', आई क्लिक फर कन्जरभेसनका सागर गिरी भन्छन्, 'चितवनमा घना जंगल छ, बासस्थानहरु धेरै छन्, त्यसैले बाघ देख्न मुश्किल पर्छ ।’

जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अरु धेरै वन्यजन्तुको पनि बासस्थान राम्रो हुन्छ।  बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापा बताउँछन्।

बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउँछन्। बर्दियामा हरेक बर्ष बाघ र आहाराप्रजातिको अध्ययन अनुसन्धान गर्ने गरेको र समुदायसँग मिलेर संरक्षणका काम गर्नै गरिएको छ।

यसबर्ष ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारा सहित बाघ दिवस समेत मनाइएको छ । सन् २०१० मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ। २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ।

लक्ष्य पूरा गर्न नेपालमा बाघको संख्य २४२ पुर्‍याउनुपर्ने चुनौती छ। अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। बाघ कम भए पनि राम्रो बासस्थान र घनत्व निश्चित ठाउँमा भएकाले बर्दियामा देख्न सहज हुने अर्याल बताउँछन्।

बाघ जोगाउनका लागि मुख्य समस्या चोरी तस्कर हो। त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पुर्वाधार, जैविक मार्गका सडक लगायत समस्या छन्। मानव वन्यजन्तु द्वन्द्व र बासस्थान खण्डीकरणले पनि बाघ संरक्षणमा चुनौती थपिरहेको छ।

मुख्यगरी बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन जरुरी हुन्छ। हालै चितवनमा एउटा विज्ञ समूहले गरेको अध्ययनमा ५ प्रतिशत बाघहरुले मानवीय जोखिम बढाएको देखाएको छ। यसलाई हेर्दा पनि मानिसलाई कुनै कारण विना बाघले आक्रमण गरिहाल्दैन।

आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघहरुले अन्यत्र जान खोज्दा मान्छे भेटेमा मात्रै आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका  प्रमुख तथा बाघ विज्ञ डा. चिरञ्जिवी पोखरेल बताउँछन्।

बाघको आनिबानीबारे डा. पोखरेलले भने, 'मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो, अब हामीले नै ऊ हिड्ने बाटोलाई सहज पार्नुपर्छ।’ सिमसार घाँसै मैदान व्यवस्थापन र स्थानीयसँगको समन्यव र समुदायमा आधारित युवा परिचालन अभियान बर्दियामा नमूना रहेकाले पनि बाघको संरक्षण राम्रो रहेको वन मन्त्रालयका वातावरण शाखा प्रमुख डा. महेश्वर ढकाल बताउँछन्।

कर्णाली नदीको पानी ढलोसँगै घाँसै मदान र आहारा बढी प्रजाति पाईने भएकाले पछिल्लो समयमा तुलनात्मक रुपमा अन्त भन्दा बर्दियामा बाघ सहज देखिने ढकालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.