|

पर्वत : म्याग्दीको मालिका गाउँपालिका वडा नं. ७ स्थित बिम गाउँका बासिन्दाले ७ वर्ष लामो प्रयासपछि बिजुली बत्ती बाल्न पाएका छन्। नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीबासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि बुधबारदेखि नियमित विद्युत् आपूर्ति सुरु भएको छ।

साविकको बिम गाविसको वडा नम्बर ६ र ७ का सबै घरधुरी र १, २, ३, ४ र ५ नम्बर वडाको केही भागमा विद्युतीकरण गरिएको हो। पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १ सय ८५ घरधुरी लाभावित भएका छन्। यसका लागि उपभोक्ताले प्रतिपरिवार ७ हजार रुपैयाँका दरले १२ लाख ९५ हजार रुपैया संकलन गरेका थिए।

प्राधिकरणले मुख्य प्रशारण लाइनको पोल, तार र ट्रान्सफर्मर तथा जिल्ला समन्वय समितिले २८ वटा पोल उपलब्ध गराएका थिए। उपभोक्ताबाट संकलित रकमले शाखा लाइनको तार तथा पोल खरिद गर्नुका साथै तार तान्ने र वाइरिङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ।

छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा पनि विद्युतीकरणको काम भइरहेको छ। धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङबासी अझै पनि लघु जलविद्युत, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.