|

कञ्चनपुर : राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो। कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ। 

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगोले मासिकरुपमा ९० हजार बढी कमाइ गर्दै आएको छ। भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगोबाट रानाले आम्दानी गर्दै आएका हुन्। दैनिक कम्तिमा ३ वटा भैँसीमा राँगोले गर्भाधान गर्दै आएको छ। 

नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगो भएकाले रानाकहाँ ल्याउने गरेका छन्। एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले एक हजार लिन्छन्। उनले चार वर्षअघि ३५ हजारमा खरिद गरेको राँगोले मनग्य आम्दानी दिन थालेको छ। 

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए। राँगोको कमाइबाट आउने रकमले उनले २ लाख खर्चेर घरमै किराना पसल खोलेका छन्। किराना पसल र राँगोको कमाइ गरी मासिकरुपमा एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन्।

राँगो पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिक २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन्। राँगोलाई तन्दुरुस्त राख्न दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गर्छन्।

'घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु', रानाले भने। राँगो नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगोको स्याहार सुसारमा खट्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.