एमालेका कुन नेता कहाँ?

|

काठमाडौं : असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेस झर्दैछन्। उनले शुक्रबार बाराको जीतपुर-सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने सिमरा र महोत्तरीको बर्दिबासमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कार्यक्रमका लागि पटक पटक मधेस गइरहे पनि एमाले अध्यक्ष ओली मधेस नझरेको भनी टिप्पणी भइरहेका बेला ओलीले पनि मधेस जाने कार्यक्रम बनाएका हुन्। 

ओली सिमरा र बर्दिबासको चुनावी सभामा मात्र सहभागी हुने कार्यक्रम रहेको उनका निजी सचिव अनिश दाहालले जानकारी दिए। 'अन्य जिल्लाहरुमा पार्टीका अन्य नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दै आउनुभएको छ' उनले भने, 'अध्यक्षज्यू कार्य व्यस्तताका कारण दुई जिल्लामा मात्र जाने कार्यक्रम छ।'

एमालेका कुन नेता कुन जिल्लामा?

प्रदेश नम्बर २ को चुनावमा पनि पहिलो पार्टी बन्ने दावी गर्दै आएको एमालेका धेरै नेताहरु अहिले तराईमै केन्द्रित छन्। शुक्रबार बाराको कोल्हवीमा हुने सभाका लागि वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बारा जाँदैछन्।

त्यसैगरी वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाराका दक्षिणी नगरपालिका र गाउँपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्न तराई जाने कार्यक्रम छ। नेता नेपाल यसअघि पनि पटक पटक कार्यक्रमका लागि प्रदेश नम्बर २ का विभिन्न जिल्ला पुगेका छन्। 

उपाध्यक्ष बामदेव गौतम बिहीवार पनि बारामा छन्। उनले परवानीपुर गाउँपालिका, निजगढ र रतनपुरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको निजी सचिव दीपक टमाटाले जानकारी दिए। नेता गौतम शुक्रबार भने पर्साको ३ वटा चुनावी सभामा सहभागी भएर शनिबार काठमाडौं फर्किनेछन्।

महासचिव ईश्वर पोखरेल एक हप्तादेखि मधेसमा नै बसेर दुई नम्बर प्रदेशको चुनावी अभियानको संयोजन गरिरहेका छन्। एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उप-महासचिवहरु घनश्याम भुसाल, विष्णु पौडेल तथा सचिवहरू योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरू दुई नम्बर प्रदेशमा खटिएका छन्। 

यस्तै एमाले स्थायी समिति सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डल महिना दिनदेखि मधेसमै छन्। गृहजिल्ला सप्तरीमा रहेका नेता मण्डल सप्तरी लगायतका ८ वटै जिल्लामा रहेर चुनावी अभियानलाई तीव्रता दिएका छन्।

प्रदेशका सह-संयोजक नागेन्द्र चौधरी वीरगन्ज महानगरपालिकामा केन्द्रित रहेका छन् भने, पोलिटव्युरो सदस्य लालबाबु पण्डित सर्लाहीमा छन। वैकल्पिक पोलिटव्युरो सदस्य शत्रुघ्न महतो जनकपुरमा छन्। 

हेर्नुस् एमालेका को नेता कुन जिल्लामा खटिएका छन्?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.