विचार

किन तान्छ अमेरिकाले?
SHARES

भदौ २९, २०७४

    अन्तर्राष्ट्रिय रोड फेडेरेसन (आईआरएफ) को निमन्त्रणामा रोड सेफ्टी अडिट तालिम र परीक्षासमेत अनि केही सरोकारवालासँगको मिटिङका लागि रोड सेफ्टी फोरम नेपालका उपाध्यक्ष आशिष गजुरेल र पंक्तिकार दुई साताका लागि अमेरिका पुग्यौँ, अगस्ट अन्तिम हप्ता। सडक सुरक्षा अडिट जस्तो अत्यन्तै महत्त्वपूर्ण तालिममा सहभागी हुनु मेरा लागि ठूलो अवसर थियो साथै कौतुहल पनि, जति सपनाको देश भनिने अमेरिका भ्रमणमा थिएन।

    संसारका करोडौँले सपनाको गन्तव्य बनाएको अमेरिका, थुप्रैथुप्रै राम्रा नराम्रा विशेषणले व्याख्या गरिएको अमेरिकाको पहिलो भ्रमणबारे केही कोर्न मन लागेकाले भ्रमणका केही सन्दर्भ यहाँ उल्लेख गरेको छु।

    अमेरिकाको सार्वजनिक यातायात व्यवस्था, सडक सुरक्षा र त्यससँगका कार्यहरू साँच्चै नै प्रशंसनीय रहेछन्। तर पनि त्यहाँ वार्षिक ३२ हजारभन्दा बढी मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाउँदारहेछन्। तसर्थ पनि हाम्रा लागि अमेरिका एक अध्ययनको भूमि  थियो र सकेसम्म गर्‍यौँ पनि। त्यसलाई आशिषजी र मैले लिपिबद्ध गरेका छौँ, लेखको रूपमा ल्याउने नै छौँ। 

    यसपटक भने पंक्तिकारको अनुभूति मात्र पेस गरेको छु, त्यो पनि अमेरिका जस्तै संगठित होइन, नेपालका यातायात कार्यालय  जस्तै असंगठित र अस्तव्यस्त रूपमा। 

    सन् १९८२ मा हो अमेरिकी राष्ट्रपतीय चुनावको सन्दर्भमा, मैले  ‘अमेरिका’  सुनेको। बरु अमेरिकनलाई भने सन् १९७८ मै हो भेटेको, तोते बोलीमा कुरा गरेको। तिनीहरूले काठमाडौँदेखि ल्याएको पाउरोटी हजुरआमाले माया गरेर दिएको कचौराको दूधमा चोबेको अनि दूधजति पाउरोटीले नै खाएको। त्यही पाउरोटी हातले उचालेर खान खोज्दा सबै कमिजमा झर्दा डाको छोडेर रोएको अनि हजुरआमाले होइन, मेरी आमालाई दिदी भन्ने गोरी ‘अम्रिकाने’ (गाउँघरमा अमेरिकी नागरिकलाई सम्बोधन गरिने शब्द) लिण्डाले मलाई अंग्रेजीमै फकाएको। 

    मेरो इतिहासप्रतिको ज्ञान अत्यन्तै साँघुरो छ। नेपालीहरू अमेरिका जान कहिले सुरु गरे? अनि ‘अम्रिकाने’हरू नेपालमा कहिलेदेखि भित्रिए? त्यो संझन र लेख्न थालेँ भने म सपनामै अमेरिका पुगेको हुनेछु सायद। किनकि पढ्नु, अध्ययन, अनुसन्धान गर्नु अर्कैको काम पो हो जस्तो लाग्छ मलाई। मेरो विचारमा भियतनाम युद्धमा पराजयपछिको अमेरिकी मानसिकता र पिसकोर नामक स्वयंसेवी अभियान नै नेपालमा अमेरिकीको प्रवेश र पहुँच भएको होला। त्यसपछि नै नेपाल अमेरिकीको प्राथमिकतामा परेको पनि होला कि! 

    अनि नेपालीहरू नि कसरी पुगे अमेरिका? किन सपनामा सजाए अमेरिकालाई? किन पक्ष र विपक्षमा बाँडिए? किन कोेही नजिकिए र कोही किन टाढिए होला? यसबारेको कुनै पनि आधिकारिक दस्तावेज मैले पढ्ने कष्ट गरिनँ। त्यतिकै, अनि अरू कसैले भनेको भरमा र लहडै लहडमा बनी बनाउ धारणा पस्कन छोडेर किन पढ्नु? किन अध्ययन र तर्क वितर्क गर्नु? तथापि, पदयात्रा र पर्वतारोहणमा आउने अमेरिकीसँगको संगत, हिजोका दरबारिया (आजका घरबारियासमेत) हरूको विश्वव्यापी पहुँच र अंग्रेजीमा भएको दख्खल, विश्वमै महाशक्तिको रूपमा उदाएको राष्ट्रप्रतिको स्वाभाविक आकर्षण, नवधनाढ्य र राजनीतिक रूपमा समेत कथित ‘एलिट’हरूको निर्बाध आवागमन, दक्ष र युवा जनशक्तिको माग, छोराछोरी विदेशमा पठाउन मरिहत्ते गर्ने बाबुआमा अनि नेपालमा सिन्को नभाँच्ने, त्यहाँ गएर भारी बोक्न तयार हुने सचेत युवाको वृद्धि पनि यसको कारण हो कि! 

    त्यस्तै, अमेरिकी विश्वविद्यालयमा विद्यार्थीको अभाव, डीभीमार्फत दक्ष जनशक्ति प्रवेश गराउने अमेरिकी नीति अनि माथि भनिएझैँ पिसकोर र अन्तर्राष्ट्रिय दातृ निकायहरू तथा संयुक्त राष्ट्रसंघीय मुख्यालय, विश्व बैङ्कलगायतका विकासे संस्थाहरूको मुख्यालय पनि नेपालीको अमेरिका सपना अनि प्रवेश र पहुँचका आधार हुन् कि!

    आज भारत, खाडीका केही मुलुक, मलेसियापछि सर्वाधिक नेपाली पुगेको मुलुक हो सायद अमेरिका। नेपाली भाषा बोलिएको र नेपाली संस्कृति मानिएकै कारण भुटानी शासकबाट लखेटिएका र भारतीय शासकको बेइमानीले तड्पिएका भुटानीको संख्या र प्रभावसमेत जोड्ने हो भने त अमेरिकाका ५० वटै राज्यमा नेपालीको संख्या अनुमान गरेभन्दा बढी नै होला। 

    नेपालका सांसदहरूको अमेरिकाको ट्याक्सी चलाइ, योजना आयोगका सदस्यको त्यहाँका लेवरको कमाइ, पूर्व मन्त्रीज्यूहरूको भाँडा मझाइ र हाम्रा अन्तर्राष्ट्रिय खेलाडीहरूका डराइ अनि सचिव, सह–सचिवहरूको अमेरिकाको ग्रिन कार्ड र पासपोर्ट लुकाइ हेर्दा त भन्नै पर्ने हुन्छ, के अमेरिका नेपाली, अझ तेस्रो विश्वका लागि बर्मुडा ट्र्याङ्गल हो? जहाँ फसेपछि कुनै पनि जहाज सजिलै निस्कन असंभव छ। कि अमेरिका स्वदेशका अल्छीहरूको स्वर्ग हो, जहाँ पुगेपछि सबै स्वतः जाँगरिला र स्फुर्त हुन्छन्। 

    मलाई मेरो गाउँमा कुनै छिमेकीलाई भेट्दा चिज लाग्दैन, जति नारायणगढ या काठमाडौँमा भेट्दा लाग्छ। अमेरिका पुगेका नेपाली किन नेपाल, नेपालका पार्टी अनि विकासका लागि चिन्तित भएका होलान् भनेर सोच्दा मेरो माथिकै अनुभव काफी छ। फेरि ‘तावाबाट उम्केको माछो भुंग्रोमा’ पनि भनिन्छ। कतै दुःखी नेपालीहरूले अमेरिकामा झनै दुःख पाएर पो कडा राष्ट्रपे्रमी, विकासपे्रमी भएका पो हुन् कि! 

    केही प्राविधिक, मनोवैज्ञानिक र व्यावहारिक कारणसमेत रहेछन् नेपालीको अमेरिका आकर्षणमा। ठूलाठूला र व्यवस्थित सडक, आधारभूत शिक्षा, बलियो र विश्वासिलो सार्वजनिक यातायात, भरपर्दाे सामाजिक सुरक्षा, विश्वमै बिकाउ र टिकाउ हुने शिक्षा र प्रमाणपत्र अनि काम नै सर्वाेपरि ठान्ने संस्कृति पनि केही यस्ता कारण हुनसक्छन्, जसले गर्दा नेपाली अमेरिकाप्रति बढी आकर्षित हुँदै आएका छन्। 

    आफ्नो कामभन्दा अरूको चियोचर्चोमा लत बसेका नेपालीलाई कहिलेकाहीँ त अत्यास पनि लाग्दो हो अमेरिकामा। 

    हेनरी फोर्डको देश हो अमेरिका, जसलाई अटोमोवाइलका ‘वर्कहोलिक’ भनिन्छ। अनि एसेम्बली लाइनको सिद्धान्तबाट उत्पादनमा चामत्कारिक सफलता प्राप्त गर्ने उनै फोर्डको देशमा उनकै फोर्ड गाडीहरूको न्यूनता देख्दा अचम्म लागिरह्यो। आफू त परियो ड्राइभर नै फेरि। अनि टोयोटा, होन्डा र निशानको प्रभुत्व हेर्दा झट्ट खुसी लाग्नेरहेछ, एसियाली ब्राण्ड भनेर। तर ती मेरो एसियाली मुलुकका हुन् कि अमेरिकाको एसियाली अवतार? 

    टोयोटाको वर्कसपबाट आफ्नो सांगठानिक जीवन सुरु गरेकाले टायोटा गाडी देख्दा मख्ख पर्नु, हेनरी फोर्डको देशमा फोर्ड गाडीमा गुड्नु अनि अमेरिकाका श्रमिकले सुरु गरेको मे दिवस पढेर सार्वजनिक जीवन सुरु गरेको मेरा लागि भने अमेरिका यात्रा आफ्नो भावनात्मक सम्बन्धको संझनाका रूपमा पनि रह्यो। 
    अन्तर्राष्ट्रिय रोड फेडरेसन र विश्व बैङ्कको मुख्यालयको मिटिङ र तालिम नहँुदो हो त मेरा लागि अमेरिका ‘नजाने गाउँको बाटै नसोध्नू’ हुन्थ्यो होला खै! तर पुराना र परममित्रको सत्कार र भेटघाट भने आम नेपालीलाई अमेरिका जस्तै भयो मेरा लागि, प्रिय अतिप्रिय। 

    हाम्रो देश बन्न नदिने जातापातका, बोर्डरपारिका र अमेरिकावारिका (युरोपेलीहरू)ले उहिल्यै अमेरिका भ्रमण गरिसकेका रहेछन्, र पो भन्दारहेछन्, ‘जात–जातका राष्ट्र बनाऊ, तराई–पहाड छुट्टै बनाऊ, एकीकृत राष्ट्र कमजोर पार, पृथ्वीनारायण शाह मुर्दावाद।’ किनकि राष्ट्र एकीकृत र बलियो भए नेपाल अमेरिका होला भन्ने डर तिनलाई रहेछ।

    एउटा कुरा शेयर गर्दा  खोक्रो राष्ट्रवादीको माला भिर्नुपर्ला मैले पनि। त्यो के भने, नेपालमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत कुरासमेत उदारवादको नाममा निजीकरण गर्ने हाम्रा नीति निर्माता, जो विश्व बैङ्क र मुद्रा कोषका तलबी कारिन्दासमेत हुन्, लाई तिनै निकाय रहेको स्थान वासिङ्टन डीसीमा भने रक्सीसमेत सरकारले बेच्दोरहेछ। नेपालमा जे जति गडबड भयो, उदारवादको नाममा भयो, विद्वानको नाममा भयो अनि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकै नाममा भयो। कठै हामी! अमेरिकामा त  सरकार रहेछ, हाम्रा शासकहरूले भने हामीलाई सरकारविहीन बनाइदिए।

    चितवनलाई छयहत्तरौँ जिल्ला भनिन्छ र पंक्तिकार सोही जिल्लाको स्थायी बासिन्दा पनि हो। अमेरिका संसारका देशहरूको पनि देश हो, जहाँ विश्वका अधिकांश देशको श्रम, सीप र सृजना उनिएको छ। भनिदोरहेछ, कसैले भेदभाव, भित्र/बाहिरको, आदिवासी जनजाति भनेर न हेपिनु पर्छ, न जातपात र वर्ण, लिंगकै आधारमा देशको दोहन गर्ने लाइसेन्स प्राप्त गरेका छन् कुनै अमेरिकीले।

    सायद त्यही देखेर हाम्रा स्वघोषित ‘पीडित’ र ठेक्कावालाले हुलाकी राजमार्ग, मिश्रित समाज र राज्य व्यवस्था  अनि बसाइँसराइ र एकअर्काबीचको सद्भावलाई शत्रुवत् व्यवहार गरेका। जसले राष्ट्र बलियो, समृद्ध र समावेसी पनि बनाउँदोरहेछ, जससित तिनको गोरु बेचेको समेत साइनो छैन। 

    हाम्रो देश बन्न नदिने जातापातका, बोर्डरपारिका र अमेरिकावारिका (युरोपेलीहरू)ले उहिल्यै अमेरिका भ्रमण गरिसकेका रहेछन्, र पो भन्दारहेछन्, ‘जात–जातका राष्ट्र बनाऊ, तराई–पहाड छुट्टै बनाऊ, एकीकृत राष्ट्र कमजोर पार, पृथ्वीनारायण शाह मुर्दावाद।’ किनकि राष्ट्र एकीकृत र बलियो भए नेपाल अमेरिका होला भन्ने डर तिनलाई रहेछ। रोजी रोटीको सवाल न पर्‍यो! जे होस्, नेपालीको जस्तो होस्, राम्रो भनुन् या नराम्रो, अमेरिका ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्दिऊँ कि! 

    अमेरिका विश्वमै सर्वाधिक हवाईमैदान भएको देश पनि हो। पंक्तिकारलाई लाग्थ्यो, त्यहाँ गाडी कम होलान्। किन पनि भने संसारका कतिपय देशमा गाडी भाडाभन्दा कम भाडा हवाईजहाजमा तिरेर पंक्तिकारले पनि यात्रा गरेको छ। फेरि अत्यन्तै ठूलो देश भएका कारणले पनि गाडी संख्या कम होला भन्ने लाग्दथ्यो। तर यस्ता सबै सोचाइ गलत ठहरिए। थाहा भयो कि अमेरिका विश्वमै धेरै ‘मोविलिटी’ दर भएको देश, त्यो पनि स्थल मार्गबाट पो रहेछ।

    नेपालमा गोरखामा, रामेछापमा, इलाममा अनि नुवाकोटमा समेत हेलिप्याड उद्घाटन भएको समाचार पढ्नेलाई काठमाडौँबाट गोरखाजति त तरकारी खरिद गर्न नै जाने अमेरिकीको दिनचर्या हेर्दा त दया लाग्यो र भन्न मन लाग्यो, ‘हामी पो भाग्यमानी, हाम्रा शासक पो भाग्यविधाता, जस्ले १०० किमी मोटर बाटो खन्नु र व्यवस्थित गर्नुभन्दा हवाईमार्गबाटै हामीलाई हावामा उडाइरहेका छन्। जो काठमाडौँबाट ३० किमीमा पनि हवाईजहाज चढ्न पाउँछन् र यातायात समितिकोे उद्घाटन गर्छन्।’

गोविन्द भट्टराई

सडक सुरक्षा अभियन्ता भट्टराई नेपाली साहित्यका विशेषगरी कविता र व्यङ्ग्यमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]