|

लहान : सप्तरीको राजविराज नगरपालिकामा तीन ठूला राजनीतिक दल र मधेस केन्द्रित दलका उम्मेदवारबीच चार पक्षीय प्रतिस्पर्धा हुने भएको छ। राजविराज नगर प्रमुखका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल लगायतका दल र स्वतन्त्र गरी १३ जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरुले विभिन्न नारा दिँदै अहिले मत माग्न व्यस्त छन्।

उपमहानगर बनाउने उद्घोष

सत्तारुढ नेपाली कांग्रेसबाट राजविराजको नगरपालिकाको प्रमुख पदमा उठेका ध्रुव देव विद्यार्थी जीवनदेखि नै राजनीति गर्दै आएका व्यक्ति हुन्। गैरसरकारी संस्थाको लामो अनुभव रहेका देव नगरको योजनाबद्ध विकासको खाकासहित मतदाताको घरदैलोमा मत मागिरहेका छन्।

‘प्रमुख पदमा पुग्न पाए पुरानो राजविराज नगरलाई उपमहानगर बनाउने छु र नगरका विभिन्न वडाहरुमा कृषि, पशुपालन, उद्यमशीलता सम्बन्धी कार्यक्रममार्फत् स्थानीय स्तरमै रोजगरीको सिर्जना गरी समृद्ध नगर बनाउने छु’ उनले भने। लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका देव ‘सेभ द सप्तरी’ नामक सामाजिक संस्थामार्फत् जिल्लामा शिक्षा, स्वास्थ्य सम्बन्धी काम गर्दै आएका छन्।

छोरी जन्मिए पुरस्कार

संघीय समाजवादी फोरम नेपालको प्रादेशिक समिति सदस्य रहेका सुखराम यादव स्थानीय तहको निर्वाचनको करिब दुई महिनाअघि फोरम परित्याग गरी नेकपा एमालेमा प्रवेश गरी राजविराज नगरको प्रमुख पदमा उम्मेवार बनेका छन्। राजविराज नगर क्षेत्रलाई सफा, सुन्दर र हरित शहर बनाउनुका साथै ‘सय दिनको एक सय एक काम’ को प्रतिबद्धतासहित यादव चुनावी अभियानमा छन्।

दहेज (दाइजो)का कारणले मधेसमा बढ्दो लैगिक हिंसा अन्त्य गर्न उनले छोरी जन्मिए सम्मानस्वरूप नवजात शिशु तथा आमालाई दुई हजार ५ रुपैयाँको पुरस्कार दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसका साथै नगर क्षेत्रमा फ्री वाइफाई, एक परिवार एक बैंक खाता कार्यक्रम लागू गर्ने योजनासहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

नमूना नगरको योजना

तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक सदस्य समेत रहेका अनुभवी र खारिएका राजनीतिज्ञ अनिस अन्सारीलाई नेकपा माओवादी केन्द्रले राजविराज नगरपालिकाको प्रमुख पदमा उठाएको छ। पञ्चायती व्यवस्थामा राजविराज नगरपालिकाको प्रधानपञ्च हुँदै सांसद चुनिएर राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अन्सारीले राजविराजको विविध क्षेत्रमा आमूल परिवर्तन गरी नमूना नगर बनाउने प्रतिबद्धता जनाएका छन्।

‘नगर क्षेत्रका दलित, मुस्लिम, बिपन्न समुदायले भोग्दै आएका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो’ उनले भने ‘सडक, बिजुली, खानेपानी, ढल निकास, योजनाबद्ध शहरी विकास नै मेरो मुख्य ध्येय हो।’ दोस्रो संविधानसभा निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका अन्सारीलाई माओवादीले प्रत्यक्ष जितेको निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिकामा बलियो संगठन रहेकाले जित्ने उम्मेदवारको रुपमा हेरिएको छ। 

मधे केन्द्रित दलका उम्मेदवार सशक्त

निर्माण व्यवसायी संघ र ईटा व्यवसायी संघका अध्यक्ष समेत रहिसकेका भीमराज यादव राष्ट्रिय जनता पार्टी परित्याग गरी फोरम नेपालबाट प्रमुख पदका उम्मेदवार बनेका छन्। यादव मूलधारको राजनीतिमा नदेखिए पनि पछिल्लो मधेस आन्दोलनमा सक्रिय रहेका थिए। ‘नगरको स्वरूप फेर्दै समग्र विकास र नगरवासीले भोगिरहेका दैनिक समस्या समाधान गर्नेछु’ यादवले भने ‘नगर क्षेत्रमा बढेको लामखुट्टे उन्मूलन र छाडा सुँगुर लगायतका पशुचौपाया नियन्त्रण प्रमुख मुद्दा हो। नगर क्षेत्रमा सडक, पार्किङ, बजार व्यवस्थित गर्नेछु।’

त्यस्तै, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार शम्भु यादव नगरको पुरानो पहिचान फर्काउन आफ्नो उममेदवारी रहेको बताउँछन्। ‘समस्याले जेलिएको राजविराजको कायापलट गर्नेछु’ उनले भने ‘मतदाताले मेरो स्वच्छ छविको मूल्याङ्कन गर्नेछन्।’ तत्कालीन फर्सैठ गाविसको दुई पटक अध्यक्ष भएका दिवङ्गत देवनारायण यादवका छोरा रहेका यादवलाई राजनीतिसँगै निर्माण व्यवसायीको समेत रुपमा पनि चिनिन्छन्।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट प्रमुख पदका उम्मेदवार शैलेश चौधरी राजविराजका पूर्व प्रमुख पनि हुन्। ‘मैले विगतमा नगर प्रमुखको रुपमा काम गरिसकेको छु’ उनले भने ‘जनसंख्या वृद्धिसँगै अव्यवस्थित पार्किङ, ढल निकास, सडक निर्माण लगायतका समस्या हल गर्नेछु।’

नयाँ शक्ति र नेकपा संयुक्तबाट महिला उम्मेदवार

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा साझेदारी गरेका नेकपा संयुक्त र नयाँ शक्ति पार्टीले राजविराजका लागि महिला उम्मेदवार उठाएको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी माविकी पूर्व प्राचार्य समेत रहिसकेकी मीना ठाकुर राजविराज नगरको प्रमुख पदको उम्मेदवारहरुमा एक्ली महिला हुन्।

प्रजातन्त्र सेनानी स्वर्गीय कुशेश्वर पाठककी छोरी एवम् मधेस आन्दोलनका योद्धा स्वर्गीय रघुनाथ ठाकुरकी भाइबुहारी रहेकी ठाकुर शिक्षा, साहित्य र महिला सशक्तिकरणको क्षेत्रमा लगनशील व्यक्तिको रुपमा चिनिन्छन्।

स्थानीय तहको पछिल्लो पुनःसंरचनापछि १५ वार्ड कायम गरिएको राजविराज नगरपालिकामा ३२ हजार ३५ जना मतदाता रहेका छन्। तीन स्वतन्त्रसहित १३ जना उम्मेदवार रहेका राजविराज नगरपालिकामा राप्रपा प्रजातान्त्रिकबाट शैलेन्द्रकुमार साह, मालेबाट मोहीनारायण मोची, राप्रपाबाट अमितकुमार यादव प्रमुख पदको उम्मेवारको रुपमा चुनावी मैदानमा छन् भने रामअशिष शर्मा, कामेश्वरलाल देव र लक्ष्मी चौधरी राजविराज नगरको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा भिड्दैछन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.