|

काठमाडौंँ: निर्वाचन आयोगले प्रदेश नम्बर २ मा असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मौन अवधि तोकेको छ।

आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ ३० गते शुक्रबारदेखि मौन अवधि लागू हुने उल्लेख गरेका छन्। 'स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका लागि यही २०७४ भदौ ३० गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ', प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

मौन अवधि सुरु भएपछि चुनावी प्रचार प्रसार नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई आयोगले आग्रह गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइनेछैन।'

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरण यस प्रकार छन्:

  • निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।
  • मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।
  • एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
  • उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने।
  • उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।

यी आचरण पालना नगरे सम्बन्धित व्यक्ति वा पार्टीलाई कारवाहीको व्यवस्था गरिएको छ। प्रवक्ता ढकालका अनुसार यी आचारसंहिता नमान्ने व्यक्तिको उम्मेदवारी रद्द गर्न सकिनेछ भने विजयी भइसकेपछि पनि आचारसंहिता पालना नगरेको भेटिए उक्त व्यक्तिको उम्मेदवारी दर्तादेखिको प्रक्रिया खारेजी गर्ने अधिकार आयोगसँग रहेको छ। त्यस्तै, जरिवाना गर्न सक्ने व्यवस्था पनि निर्वाचन आचारसंहितामा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.