|

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसँग आफ्नो धेरै पहिलेदेखि नै लभ (प्रेम सम्बन्ध) रहेको भन्दै बीचमा भिलेनहरुले दिग्भ्रमित पार्न खोजेको मात्रै बताए।

धनुषाको धनुषाधाममा आयोजित चुनावी सभामा उनले मधेसलाई आफ्नो प्रेमिकाको रुपमा अर्थ्याउँदै प्रेमिकाले पनि अब सच्चा प्रेमी चिनिसकेको टिप्पणी गरे।

'मधेससंग मेरो वास्तविक लभ पहिले पनि थियो आज पनि छ र आगामी दिनमा समेत रहनेछ। मेरो प्रेमिकालाई केही भिलेनहरुले बीचमा दिग्भ्रमित गरी खोस्न खोजेका कारण मेरो प्रेमिकाले बाटो विराएकी थिइन्' उनले भने, 'तर आज प्रेमिकाले बुझिसकिन्, साचो माया प्रेम गर्ने त प्रचण्ड नै रहेछ, त्यसैले आज सबै भ्रम हटाएर म नजिक आइन् र मैले सहर्ष स्वीकार समेत गरेँ।'

मधेसलाई अरुले प्रेम र सम्मानको साटो तिरस्कार र अपमान दिएको दावी गर्दै प्रचण्डले मधेसको सच्चा प्रेमी आफूमात्र भएको जिकिर गरे। तेस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा प्रदेश नं. २ को ८ जिल्लाको दौडाहामा रहेका प्रचण्डले देशलाई मुक्तिको दिशामा डोर्‍याउने पहिलो पार्टी माओवादी नै रहेकोले अहिले माओवादीमा आउने लहर चलेको दावी गरे।

मधेसलाई मुक्ति दिलाउने पार्टी नै माओवादी केन्द्र हो भन्ने मधेसी जनताले बुझिसकेको भन्दै उनले अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको दावी गरे। '१३ सय मधेसी जनताले दिएको सहादतलाई म खेर जान्न दिन, मधेसको अधिकार प्राप्त गरेर छोड्छु र मधेसमा जनयुद्धकालीन माओवादीको लाल किल्ला पुनः स्थापना गरेर मात्र विश्राम लिन्छु।'

चुनावी सभामा माओवादी नेताहरु रामचन्द्र झा, प्रदेश नं. २ का ईन्चार्ज मातृका यादव, स्वास्थ्य राज्यमन्त्री रामसिंह यादव, केन्द्रीय सचिवालय सदस्य श्रवण यादव बरबरिया, पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डल लगायत पनि सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.