|

  • मिलन विश्वकर्मा-

पाल्पाः तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी ६९ करोड ११ लाख ३१ हजार ९४७ रुपैयाँको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो। नगर प्रमुख अशोककुमार शाहीले यस वर्षलाई ‘सडक सञ्जालको आधार वर्ष’ मानेर चालु आर्थिक वर्षका लागि सडकको लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको बताए। 

उनले भौतिक पूर्वाधारतर्फ सडकसहित बसपार्क, पुल, कल्भर्ट, खानेपानी, सिँचाइ र विद्युतीकणको लागि छ करोड ५४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको बताए। शाहीका अनुसार पुरानो नगरमा गाभिएका साविकका गाविसको विकासका प्रक्रिया फरक फरक रहेकाले यसलाई एउटै धारमा ल्याउनका लागि अन्तरवडा र वडाभित्रका सडकलाई जोड्ने योजना छ। 

योजनाअनुसार तानसेनदेखि २४ किलोमिटरको दूरी रहेको फास्ट ट्र्याक सञ्चालन गरिनेछ। ‘यो सडक तानसेन बजारदेखि चडिभञ्ज्याङ हुँदै बौघागुम्हास्थित कालीगण्डकी करिडोर जोडिनेछ। यसले सुनौलीदेखिको सम्बन्ध नजिक हुनेछ र यस क्षेत्रमा व्यापार बढेर जानेछ’, उनले भने।

निजी क्षेत्रसँगको सहकार्यमा तानसेनलाई पर्यटकीय नगरको रूपमा विकास गरिने योजना पनि उनले सुनाए। पर्यटकको आकर्षण बढाउन तानसेन बजारभित्रको नारायणस्थानदेखि शीतलपाटी हुँदै तेर्सो सडकमा ग्रेनाइट, मार्वल बिछ्याइनेछ। यसले तानसेनको पुरानो संरचनाको झल्को दिनेछ। 

यस्तै, तानसेनभित्र पर्ने राजमार्गको छेउछाउमा हरियाली निर्माण गर्नका लागि बिरुवा रोप्नेदेखि सार्वजनिक जग्गामा बगैँचाहरू निर्माण गर्ने योजना रहेको पनि प्रमुख शाहीले सुनाए। 

उनले अबको एक वर्षमा ३०० युवालाई स्वरोजगार बनाउने बताए। सुरुमा केही व्यावहारिक तालिम दिने र पछि उनीहरूलाई लगानीको समेत व्यवस्था मिलाइने शाहीले बताए। उनले वडा नं.– ९ मा आधुनिक वस्ती विकास गरिने छ भने तानसेनलाई फ्रि वाईफाई नगरको रूपमा विकास गर्ने घोषणासमेत गरे।

घरको छतबाट पानी सडकमा खसाल्ने प्रवृत्तिलाई हटाउने कामको सुरुवात नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट भएको समेत उनले बताए। ‘वर्षातको समयमा घरका छतबाट खसेको पानीले तानसेनका सडक बिग्रिएको र मानिसलाई बाटोमा हिँड्नसमेत समस्या भएकाले कर्मचारी र जनप्रतिनिधिबाट यो काम सुरु गरिने भएको हो’, उनले भने, ‘विस्तारै सबै नगरवासीमा यो लागू गरिनेछ।’ 

कुकुर पाल्नेहरूले अब वार्षिक एक हजार ५०० रुपैयाँ नगरपालिकालाई कर तिर्नुपर्नेछ भने कुकुरलाई घुमाउने बहानामा जथाभावी दिशापिसाब गराउनेलाई जरिवाना तिराउने व्यवस्था गरिएको प्रमुख शाहीले बताए। 

तानसेन नगरपालिकाले तानसेनको खानेपानीको समस्या समाधान गर्न कालीगण्डकी खानेपानी योजना समयमै सम्पन्न गर्न र उपभोक्ता समितिसँग सहकार्य गर्न वार्षिक २५ लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ। खेलकुद विकासका लागि मेयर कप फुटबल सञ्चालन गर्ने, प्रदेशस्तरीय क्रिकेट सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 

यस्तै, तानसेन–बुटवल जोड्नका लागि डाइरेक्ट फास्ट ट्र्याक निर्माणका लागि पहल गर्ने, वडा कार्यालय व्यवस्थित गर्ने, गरिब तथा विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको प्रमुख शाहीले बताए। यसका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.