संघीय र प्रदेश संसदको चुनाव घोषणादेखि राष्ट्रपतिको स्विटजरल्याण्ड भ्रमणसम्म

|

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ। १०० दिनको सकारकारको उपलब्धि सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संघीय संसद र प्रदेश संसदको चुनाव घोषणा र राष्ट्रपतिको स्विटजरल्याण्ड भ्रमणलाई समेत उपलब्धि भएको बताए।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित देउवा नेतृत्वको सरकारको सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा मन्त्री बस्नेतले मन्त्रिपरिषद् गठन भएपछिको पहिलो बैठकले निर्धारण गरेका प्रमुख आठवटा लक्ष्य प्राप्ति गर्ने प्रयास भएको बताए।

‘मन्त्रिपरिषद् गठनपछि सरकारले घोषणा गरेको प्रमुख लक्ष्यलाई अघि सारेर नै सरकारले कार्य गरिरहेको छ’, मन्त्री बस्नेतले भने, ‘यस अवधिमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा निर्णयार्थ पेस गर्‍यो।’

मन्त्री बस्नेतले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक सदनमा पेस गरेको, मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन ऐन तयार पारेको, बाढी, पहिरोपीडितलाई उद्धार राहत वितरण गरेको बताए।

सञ्चारमन्त्री बस्नेतले १०० दिनको उपलब्धिको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विटजरल्याण्ड भ्रमण गरेको, उपराष्ट्रपति नन्दबहादुर पुनले चीनको भ्रमण गरेको, प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरेको, परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको भ्रमण गरेको, विमस्टेकको चौथो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको बताए।

राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न त्यस्ता आयोजनाको प्रधानमन्त्रीद्वारा नै स्थलगत निरीक्षण गरी निर्देशन दिने गरेको, भूकम्पपीडित एक लाख २३ हजार ५३० परिवारले घर निर्माण गरेको, पाँच लाख १९ हजार २७५ जनासँग घर निर्माण सम्झौता भएको, ५६ वटा सांस्कृतिक सम्पदा, दुई हजार ४५६ वटा विद्यालय भवन र २३० वटा स्वास्थ्य केन्द्र निर्माण भएको मन्त्री बस्नेतले जनाए।

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठको उपस्थिति थियो। प्रधानमन्त्री शेरबहादुर देउवा भने दुई नम्बर प्रदेशको आगामी असोज २ गते हुने निर्वाचनको प्रचार प्रसारमा तराईका जिल्लामा व्यस्त छन्।

हेर्नुहोस् सरकारले सार्वजनिक गरेको १०० दिनको उपलब्धि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.