|

लण्डन: प्रसिद्ध व्यवसायी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तक 'अजेयराज सुमार्गी'को बुधबार बेलायतको लण्डनस्थित एम्पाएर हल, अल्डरसटमा एक भव्य समारोह माझ विमोचन गरियो। कार्यक्रममा अस्मिता सुमार्गीद्वारा लिखित पुस्तकहरू 'अस्मिताका अक्षरहरू', 'अनुभव र अनुभूति' र 'अस्मिता" नामक गीति एल्बमको समेत लोकार्पण गरिएको थियो।

थाहा प्रतिष्ठान नेपालको प्रबन्धनमा नेपालबाट विमोचन कार्यक्रमका लागि आएका व्यवस्थापिका संसद सदस्य रामनारायण बिडारीले थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टको थाहा अभियान विश्वव्यापी बन्दै गएको बताए। 

अर्का सांसद कर्णबहादुर थापाले उद्योगी अजेयराज सुमार्गीले नेपाल र नेपालीको विकासका लागि निकै महत्त्वपूर्ण कार्यहरू गरिरहेको भन्दै प्रशंसा गरे। 

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले अजेयराज सुमार्गीको पुस्तक विमोचन कार्यक्रममा आउनु र सबै सामु सफल व्यवसायी सुमार्गीका बारेमा बोल्न पाउनु खुसीको विषय भएको बताए।

सुमार्गीसँगको मित्रताले नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धले थप उचाइ पाएको र पाउँदै जाने जोलीले बताए। प्रसिद्ध समाजसेवी अशोक वर्माले कार्यक्रममा विमोचित पुस्तकको सफलताको कामना गर्दै समाज रूपान्तरणमा भइरहेका सामाजिक कार्यक्रमहरूले विश्वभर सकारात्मक तरंग दिने बताए।

अजेयराज सुमार्गीले नेपाल र नेपालीको माया संसारको जुनसुकै कुनामा गए पनि कम नहुने बताए। व्यवसायका लागि दीर्घकालीन योजनाहरूलाई अघि सार्दै नयाँ पुस्ताले सामाजिक परिवर्तनको पहलमा चौतर्फी रूपमा लाग्नुपर्ने उनले बताए ।

'अजेयराज सुमार्गी' पुस्तकका लेखक निर्मलकुमार थापा र 'अस्मिताका अक्षरहरू', 'अनुभव र अनुभूति' र 'अस्मिता' एल्बमकी सर्जक अस्मिता सुमार्गीले लेखनका क्रममा भएका अनुभूति र रचनागर्भबारे बोल्दै पुस्तक लेखनमार्फत् सामाजिक परिवर्तन ल्याउने महान् काममा सहयोगी हुन पाउँदा हर्षित भएको बताए।

सात सय जना सहभागी भएको पुस्तक विमोचन कार्यक्रमका लागि नेपाल, भारत र बेलायतमा बसोवास गरिरहेका गैरआवासीय नेपाली र भारतीयहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विमोचित पुस्तक बिक्रीबाट आउने सम्प्पूर्ण रकम लक्ष्मी प्रतिष्ठानलाई प्रदान गरिएको थियो। कार्यक्रममा बेलायतका संयोजक सुरेन्द्र श्रेष्ठ, एनआरएन युके पदाधिकारी, पूर्व गोर्खा सैनिकहरूलगायत स्थानीय व्यवसायी, संचारकर्मी, कलाकारहरूको सहयोग र सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.