|

इलाम : मादक पदार्थ सेवन गरी विद्यालय आएका दक्षिणी इलामको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मापसे गरी विद्यालयमा आएका रोङ गाउँपालिका वडा नं. ६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्याालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।

अन्य समयमा पनि मादक पदार्थ सेवन गरिरहने श्रेष्ठलाई बारम्बार चेतावनी दिँदापनि उनको व्यवहारमा सुधार नआएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डम्बर राइले बताए। बुधबार अत्याधिक मदिरा सेवन गरी विद्यालय नै दुर्गन्धित हुनेगरी आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको राईले बताए।

प्रअले पहिलादेखि नैं मादक पदार्थ सेवन गर्ने गरेको र हामीले हाम्रो समितिको बैठक र स्टाफ बैठकमा समेत बारम्बार सम्झाउँदा पनि व्यवहारमा कुनै परिवर्तन आएन। बुधबार त उनी खुट्टै नटेक्ने गरी आएका रहेछन्।’

विद्यालय व्यवस्थापन समितिका सदस्य लाखमान ग्रोङदानले बारम्वार सम्झाउँदा पनि प्रधानाध्यापक नसुध्रिएकाले अब कारवाही प्रक्रिया अघि बढाउने बताए।

उनले भने ‘अब एकपटक विद्यालयको आन्तरिक लेखा परीक्षण गर्नेछौं र यसरी मापसे गर्ने शिक्षकलाई के कारबाहीका लागी सिफारिस गर्नेबारे सोच्नेछौं।’
यता अब प्रअलाई के कारवाही हुन्छ भन्ने प्रश्नमा जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार कारबाही प्रक्रिया थालिने बताए।

“शिक्षकको गयल, हाजिरी तलब–रोक्का गर्ने नगर्ने सबै अधिकार व्यवस्थापन समितिलाई हुन्छ। त्यही निर्णय अनुसार नैं जिल्ला शिक्षा कार्यालयले गर्ने हो तर बर्खास्त नैं गर्ने अधिकार भने क्षेत्रीय शिक्षा निर्देशनालयलाई हुन्छ,’उनले भने,‘बर्खास्तको चरणसम्म पुग्दा उनीसँग स्पष्टीकरण लिने लगायत अन्य प्रक्रियाहरु भने जिल्लास्थित कार्यालयले गर्दछ  तर मादक पदार्थ सेवनको कारबाही भने प्रहरीले कानुन अनुसार नैं गर्दछ।’

बुधबार नैं रोङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष सुवास तामाङसहित बसेको सर्वपक्षिय भेलामा विद्यालय र विद्यार्थीको हितलाई ध्यानमा राखेर प्रअलाई सो विद्यालयबाट पदमुक्त गर्नको लागि जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गर्ने विषयमा छलफल भएको छ। असोज १ गते हुने अभिभावक भेलाबाट यस विषयमा थप निर्णण गरिने वडा अध्यक्ष तामाङले जानकारी दिए।                


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.