|

इलाम : देवी-देवता खुसी पार्ने निँहुमा धेरै मठमन्दिर र धार्मिक स्थलहरुमा बली चढाउने गरिन्छ। धर्म–संस्कृतिको जर्गेनाका नाममा हुने ‘बलीप्रथा’ कुसंस्कार हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैले यस्तो प्रथालाई त्याग्न सकेका छैनन्। 

इलाम जिल्लाको माङसेवुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँ (जसलाई अहिले माङसेवुङ भनेर चिनिन्छ)को पहिचान भने फरक छ। धर्म–संस्कृतिको जर्गेन गर्नकै लागि यहाँ काटमार निषेध गरिएको छ। यो गाउँ पूर्ण शाकाहारी गाउँ हो। यहाँ मदिरापान समेत निषेध छ।

यो गाउँ निकै सुन्दर छ। घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्काे ध्वजा पनि। पहिलो पटक त्यहाँ पुग्नेहरु झन्ड देखेर छक्क पर्छन्। कतिले पार्टी वा संघ संगठनका झन्डा होलान् भन्ने अनुमान काट्छन्। 

तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा नभएर पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको चिनारी हो।

किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १ हजार ५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ। सो गाउँमा मासु मङ्स, जाँड, रक्सी निषेध गरिएको छ।  २०७२ साल चैत्र ११ गते औपचारिक रुपमा यस गाउँलाई माछामासु, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ।

बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङ बताउँछन्। योङ्हाङका अनुसार त्यस क्षेत्रमा जताततै फोहोर गर्न, सुुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि प्रतिबन्ध नै लगाइएको छ।

लिम्बू भाषाअनुसार माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ हो। यो ठाँउ करिब दुई दशकअघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तरण भएको बताइन्छ। सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन्।

माङ्गेना सेवा समितिका अध्यक्ष योङ्हाङका अनुसार विषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलो हो। 

वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ। यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरु समेत आउने गरेका छन्। 

किरात धर्मावलम्बीहरु गुरुको जन्मोत्सवमा अमेरिका, युरोप लगायत तेस्रो मुलुकबाट समेत सहभागिता जनाउन आउने गरेका छन्। फागुन ३ गते गुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सव पनि विविध उत्सवका साथ मनाइने गरिएको छ।

दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ। यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाइने गरिन्छ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिने विकासको दृष्टिले भने निकै पछि परेको े छ। दमकस्थित रतुवाखोला हुँदै घर्ती दोभानबाट उकालो लाग्दा निकै कष्ट भएका् अनुभव हुन्छ। तर धार्मिक स्थल माङसेबुङ पुगिसकेपछि साँच्चे आनन्द महसुस हुने त्यहाँ पुग्नेहरु बताउँछन्। 

माङसेवुङ  झापाको विर्तामोड– खुदुनावारी– दानाबारी हुँदै करिव ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ। मेची राजमार्गको बैकल्पिक मार्ग प्रयोग गरी वर्खाको ४ महिना बाहेक अन्य समयमा साना तथा ठुला सवारी साधान धार्मिकस्थल सम्म पुग्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.