|

धनकुटा : काठमाडौंको डिभाइन ब्वाइज युनियन क्लब धनकुटामा जारी सहीद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार धनकुटास्थित तल्लो टुँडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै डिभाइन ब्वाइज युनियन क्लब उपाधि नजिक पुगेको हो।

डिभाइन ब्वाइज युनियन क्लबका लागि एक मात्र गोल नाइजेरियन खेलाडी अबुबाकोनले गरेका थिए। उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए। खेलमा निकै दबाबमा परेको बेलबारी क्लबले दोस्रो हाफमा आक्रामक खेल पस्किएपनि गोल फर्काउन सकेन।

निर्णायक गोल गर्ने अबुबाकोन 'म्यान अफ दी म्याच' घोषित भए। उनलाई नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताका संस्थापक अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले नगद २ हजार पाँच सय रुपैयाँ र मायाको चिनो प्रदान गरे। 

डिभाइन ब्वाइज युनियन क्लबले शनिबार उपाधिका लागि बिर्ता युनाइटेड क्लब झापा र फ्यान्स क्लब बिआरसी भूटानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा यी शुक्रबार बिर्ता र बिआरसी भूटान भिड्दैछन्। 

शनिबार प्रतियोगिताको फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले गोल्डकप सहित नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.