|
चिसंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्मा

ओखलढुंगा : स्थानीय निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधि सम्पर्कमा नआएको भन्दै मतदाताहरु असन्तुष्ट बनेका छन्। पहिले मत माग्न घरदैलो गरेका जनप्रतिनिधि चुनाव जितेपछि फर्केर नआएको भन्दै मतदाताहरु रुष्ठ भएका हुन्। 

‘निर्वाचनअघि सबै मतदातालाई हात जोडेर मत माग्न आउने राजनीतिक दलका प्रतिनिधिहरू निर्वाचनपछि भेट हुँदासमेत बोल्दैनन्’, लिखु गाँउपालिका– ६ का लेकिन्द्र भट्टराईले भने, बरु हार्नेहरूले धन्यवाद भने, जित्नेहरु आजसम्म फर्केर आएका छैनन्।’ 

‘जसरी पनि जित्नु थियो। चुनाव अघि सबै मतदाताको घरघरमा पुगेर मत मागियो तर चुनाव पछि जनप्रतिनिधिहरु फर्केर आउँदैनन्’, एमाले गाम्नाङटारका पूर्व अध्यक्ष हरिप्रसाद भट्टराईले गुनासो गरे, ‘कतिपटक बोलायौँ, उहाँहरु नआएपछि पार्टीको तर्फबाटै कार्यक्रम राखेर जनप्रतिनिधिलाई बोलाउने योजना बनाएका छौं।’ 

लिखु–८ का वडाध्यक्ष विशालकुमार पौडेल मतदाताको गुनासो जायज भएको तर्क गर्छन्। ‘चुनावअघि सबै मतदाताको घर घरमा पुगी मत मागियो तर निर्वाचनपछि कार्यव्यस्तताका कारण उनीहरूलाई धन्यवाद दिन नपाएको पक्कै हो’, उनल भने, ‘पुनः घरघरमा गई भेटघाट गर्ने योजना बनाइरहेको छु।’

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष बेलबहादुर रोकाले निर्वाचनपछि गाउँसभा, जिल्लासभा लगायतको व्यस्तता र त्यसभन्दा पछि बजेट बाँडपफाँडको काममा लाग्नुपरेकाले  मतदातासँग भेटघाट गर्न नपाएको बताए। 

तर केही जनप्रतिनिधि यो कुरा मान्न तयार छैनन्। चिसंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्माले मतदाताको घरघरमा गई धन्यवाद दिइरहेको बताए। त्यस्तै चम्पादेवी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश थापा हरेक घरघरमा पुगेर मतदातालाई भेटेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.