|

उदयपुर : सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोड्ने सिद्धिचरण राजमार्ग दिनप्रतिदिन जिर्ण बन्दै गएको छ। कटारी–मिर्चैया सडक खण्डमा मारुती र कसमस सिमेण्ट उद्योगका चुनढुगा बोक्ने टिपरका कारण  र  समय समयमा मर्मत नहुँदा जिर्ण बनेको हो।

मर्मत सम्भार नहुँदा बाटो हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेकोे छ। मिर्चैयादेखि कटारीसम्मको खण्डमा दर्जनौं ठाउँ भत्केर कच्चीभन्दा कमजोर देखिन्छ भने कटारीदेखि घुर्मीसम्मको सडक खण्डमा कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन हुने गरेको छ। ‘पिच सबै उक्किइसकेको छ', सवारी चालक अनिल खत्रीले भने, ‘खाल्डाखुल्डीको कुरै नगरौं।’ उनका अनुसार कटारी घुर्मी जम्मा ४६ किलोमिटर सडक पार गर्न मालबाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई तीन घण्टाभन्दा बढी लाग्ने गरेको छ।

फेरि सडकमा गुड्ने सवारीको संख्या बढेको छ। तर, सडकको अवस्था झन्झन् दयनीय हुँदै गइरहेको छ। उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व उपाअध्यक्ष धनबहादुर कटुवालले एक दिनमा सयौंको  संख्यामा सवारी साधन गुड्ने भएकाले समस्या समाधान नभएको बताए । ‘मिर्चैयादेखि कटारीे खण्डमा मारुती सिमेन्ट र कसमस सिमेन्टका टिपरले सडक ध्वस्त बनाएका छन्।’ कटुवालले भने, ‘यात्रुबाहक गाडी बढीमा १० टन क्षमताका हिँड्न बनाइएको सडक हो तर, २५ टन बढी बोकेका टिपर दिनरात गुड्ने गर्छन्। मर्मत सम्भारमा कसैको ध्यान नपुगेको गुनासो कटुवालले गरे।

सिद्धिचरण राजमार्गको स्तरोन्नतिका लागि स्थानीय बासिन्दाले पहल नगरेका भने होइनन्। उदयपुर क्षेत्र नं. ३ का कांग्रेसका सांसद् नारायणबहादुर कार्की, माओवादी केन्द्रका सांसद् भेषकुमारी राउतले संसदमा समेत कुरा उठाएका थिए। ओखलढुंगा, खोटाङ्ग, सोलुखुम्बुका सांसद्हरूले पनि सडक मर्मतबारे संसदमा बोलेका थिए। 

स्थानीयका अनुसार भत्केको सडक मर्मतका नाममा वर्षेनी लाखौं बजेट छुट्याइए पनि बालुवामा पानी हालेसरह हुने गरेको छ। बढी भारक्षमताको सवारी थाम्ने गरी मर्मत तथा सडक स्तरोन्नति गर्ने तयारी भईरहेको पनि सडक डिभिजन कार्यालय लहानले जनाएको छ। 

२०३४ सालमा सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडियो। त्यसपछि कटारी–ओखलढुंगा सडक निर्माण सुरु भएको थियो। त्यसैक्रममा २०५८ सालमा कटारी–घुर्मी सडकमा पनि यातायात सञ्चालन आयो । अहिले सिधा यातयात खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोडिएको छ। सडक बनाउने तर मर्मत नगर्ने प्रवृत्तिका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। मिर्चैया–कटारी २६ किलोमिटर  र कटारी–घुर्मी ४६ किलोमिटर सडकको अवस्था पनि उस्तै छ। 

जीर्ण सडकबाट जोखिपुर्ण तरिकाले ओखलढुंगा, सोलुखम्बु र खोटाङ लगायतका क्षेत्रमा उपभोग्य वस्तु ढुवानी गर्न बाध्य भएको व्यापारीहरुले बताउँदै आएका छन्। यता खोटाङको चर्चित हलेसी, धार्मिक क्षेत्र आउने पर्यटनमा समेत असर पारेको छ। 

कटारी–मिर्चैया सडक सञ्चालनमा आएको पाँच दशकपछि अहिले खोलामा पक्क पुल बन्दै छ। कटारी–मिर्चैया सडक खण्डको तीन खोलामा धमाधम पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। सोही सडकमा पर्ने तावा र मरुवा खोलामा केही वर्षअघि मात्र पक्की पुल सञ्चालनमा आएको थियो। वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भए पनि ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीमा पर्ने सुनकोशीमा पक्की पुल बनेपछि ओखलढुगा–सोलुसम्बु सिधै जोडिएका छन्। ओखलढुंगा र सोलुसम्बुलाई मध्यपहाडी लोकमार्गले राजधानी लगायत पश्चिम नेपालसँग जोडे पनि तराई–मधेस जोड्ने एक मात्र मार्ग सिद्धिचरण राजमार्ग हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.