|

ठाकुरद्वारा (बर्दिया) : तीन दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीको प्रजनन बर्दियामा पनि सफल भएको छ।

विगतमा पटकपटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि गत वर्षदेखि प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए।

गएको बर्ष गोहीले २४ वटा अण्डा कोरलेको थियो। यो बर्ष भने १४ वटा अण्डा कोरलेको थापा बताउँछन्। उनका अनुसार बर्दियामा अहिले ३८ बच्चा सहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन्।

शुरुमा गोहीबारे जनचेतना जगाउन शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकोमा खुसी छन् संरक्षणकर्मीहरु।

नेपालमा गोहीको प्रजनन केन्द्र चितवनको कसरामामात्र रहेकोमा बर्दियामा पनि प्रजनन केन्द्र बन्नुले गोही संरक्षणमा महत्वपूर्ण उपलब्धी भएको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख तथा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए।

घडियाल गोही गैंडाभन्दा पनि दुर्लभ हुँदै गएको छ। प्राकृतिक वासस्थानमा यसको मृत्युदर ९९ प्रतिशत छ। नेपालमा पाइने अर्को मगर गोहीको संख्या भने केही धेरै रहेको छ।

विश्वका विभिन्न देशमा लोप भइसकेको घडियाल गोही नेपालमा प्रजनन केन्द्र नभएको भए पहिले नै लोप भइसक्ने खड्का बताउँछन्। हाल नेपालका विभिन्न नदीमा १९८ वटा गोही रहेको तथ्यांक छ। जसमा चितवनमा मात्रै १६६ वटा गोही छन्।

कालीगण्डकीमा लगेर छाडिएको गोही लोप भइसकेका छन् भने बर्दियाको कर्णाली र बबई नदीमा सयौं गोही छाडिए पनि अहिले कर्णालीमा एउटा देखिएको र बबई नदीमा ५ भाले सहित ३१ वटामात्र रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख थापा बताउँछन्।

‘अब प्रजाति जोगाउन प्रजनन केन्द्र कोशेढुंगा बनेको छ’, थापा भन्छन्, 'प्राकृतिक वासस्थानकै जसरी हामीले संरक्षण गरिरहेका छौं।’ ड्रोनको सहयोगमा गएको वर्ष नेपालमै पहिलो पटक बबई नदीमा गोहीको अनुगमन भएको थियो।

बर्दियामा २०४० सालमा गोहीबारे जनचेतना जगाउन भन्दै चितवनबाट शुरुमा ४ र पटकपटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । १० बर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो। तर गएको बर्ष गोहीले आफै अण्डा पारेर बच्चा निकालेको हो।

त्यही गोहीको सन्तान बढ्दै गएर अहिले ५० पुगेको छ। गत बर्षबाट कोरलेका बच्चा समेत हुर्कन थालेका छन्। चितवनमा २०३५ सालमा प्रजनन केन्द्र स्थापना गरिएको थियो। २०५० पछि यहाँ बच्चा कोरलिएको थियो। चितवनमा बच्चा कोरल्न झण्डै २ दशक लागे पनि बर्दियामा तीन दशक पछि मात्रै कोरलेको हो।

घडियाल गोही भएको नदी सफा र स्वच्छ मानिन्छ। गोही देखेको स्थानमा माछा तथा अन्य पानीमा बस्ने प्रजातिहरु पनि सजिलै भेटिन्छन्। त्यसैले पनि पारिस्थितिक प्रणालीमा  गोहीको अति महत्व हुने गर्छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापा शुरुमा टन्न खाएन भने गोही पछि सुक्दै–सुक्दै मर्ने बताउँछन्।  ‘त्यसैले हामीले शुरु मै मान्छेले नखुवाई उसलाई आफैं खान लगाउने गरेका छौं,यो नयाँ प्रयोग हो,’ थापाले भने।

पहिले विश्वका धेरै मुलुकमा घडियाल गोही थिए। अहिले पाकिस्तान, भुटान, श्रीलंकामा गोही लोप भइसकेको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख बेदप्रसाद खड्काको दावी छ। ‘बंगलादेशमा प्रजनन केन्द्रमा मात्रै छ, नत्र भारत नेपालमै हो गोही भएको,’ खड्काले भने। अझ प्राकृतिक वासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ।

मर्नुमा सहायक नदीहरुको अवस्था, भारत जाने, नदी प्रदुषण विभिन्न कारणहरु छन्। निकुञ्ज बाहिर बासस्थाननै छैन गोहीका लागि।

गोही लोप हुनुमा पानी प्रदुषण, विषादी, जालमा परेर मर्ने, अरु गोहीले खाइदिने, चरा चिलले पनि लैजाने, रोगव्याधी तथा बाघले पनि खाइदिने लगायत कारण छन्। त्यसैले अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयले मृत्युदर पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ।

सन् २००७ मा वरिष्ठ पशुचिकित्सक डा. कमल गैंरेले अध्ययन गर्दा गोही लोप हुनुका १०,१२ किसिममा समस्या फेला परेका थिए। पानी संक्रमणको समस्या बढी देखिएको भन्दै उनले खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न डा. गैरेले सुझाव दिएका थिए।

चितवनमा यो बर्ष गोहीले २०० बढी अण्डा कोरल्यो

चितवन निकुञ्जको गोही प्रजनन केन्द्रमा यो बर्ष २०० बढी अण्डा कोरलेको छ।  केहीले प्रजनन केन्द्रमै अण्डा पारेका थिए भने प्राकृतिक वासस्थानमा गोहीले पारेका अण्डा संकलन गरेर ल्याएको अण्डाबाट समेत बच्चा कोरलेको छ।

हाल चितवनको प्रजनन् केन्द्रमा ६०० माथि गोही छन्, एउटा बयस्क भाले छ भने १२ वटा वयस्क पोथी छन्। हाल निकुञ्जले १ हजार २२६ गोही विभिन्न नदीमा छाडेको थियो।

अधिकांश नारायणी र राप्तीमा छाडिएको थियो। तर अहिले अनुगमनमा चितवनमा जम्मा १६६ फेला पार्नुले पनि छाडेका गोही दश प्रतिशत पनी बाँचेको देखिंदैन। प्राकृतिक वासस्थामा रहेको एउटा गोही समेत केही महिना अघि जालमा अड्किएर मरेकाले प्रजनन्मा समस्या हुने देखिएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.