दमक : विवेकशील साझा पार्टीका सह-संयोजक रवीन्द्र मिश्रले प्रतिनिधिसभाको आउँदो निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय दल बन्ने दाबी गरेका छन्।
झापाको दमकमा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै उनले जनताले आफ्नो दललाई विश्वास गर्ने आशा व्यक्त गरे। ‘हामी हाम्रा एजेण्डा लिएर जनतामाझ आएका छौँ,’ मिश्रले भने, ‘चुनौति त छ, तर हामीलाई जनताले विश्वास गर्नुहुन्छ भन्ने आशा छ।’
संविधानअनुसार राष्ट्रिय दल बन्न समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ।
आफूहरुले निष्ठाको राजनीति गरेको भन्दै उनले इमान्दार र जनतामा भिजेका उम्मेदवारलाई प्रतिस्पर्धामा उतार्ने जानकारी दिए। ‘हामी निष्ठाको राजनीति गर्छौँ, त्यसैले इमान्दार र जनतामाझ भिजेका उम्मेदवार उठाउँछौँ,’ उनले भने।
पार्टी गठन हुनेबित्तिकै चुनावमा होमिनुपरेकाले पार्टीको विचार जनतामाझ स्थापित गर्न कठिनाइ भएको सहसंयोजक मिश्रको भनाइ छ।
सोही कार्यक्रममा बोल्दै अर्का सहसंयोजक उज्ज्वल थापाले आफूहरुले प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र स्थापना गर्न चाहेको बताए। ‘लोकतन्त्र स्थापना भए पनि अहिले बन्द कोठामा चार जनाको निर्णय चल्छ,’ उनले भने, ‘सोही कारण हामीले सहभागितामूलक लोकतन्त्र स्थापना गर्न खोजेका हौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।