पानी लगाउन वर्षैपिच्छे ठेकेदार तोक्ने परम्परा

|
धान खेतमा पानी लगाउन पुगेका नन्द बहादुर परियार। तस्बिर सन्तोष अधिकारी/थाहाखबर

गोरखा : उमेरको हिसाबले सात दशक पूरा गरेका नन्दबहादुर परियार बिहानै हरियाली खेतमा पुग्छन्। उनी खेतमा पानी लगाउनकै लागि जाने गर्छन्। स्थानीय ३३ घरको खेतमा पानी लगाउने जिम्मा यस वर्ष नन्द बहादुरलाई छ। जिल्लाको सिरानचोक गाउँपालिका ६ गाँखुमा विगत ६ वर्षदेखि खेतमा पानी लगाउन ठेकेदार राख्ने परम्परा छ।

‘गाउँलेले यस वर्ष तँ नै बस पानी लाउने ठेकेदार भनेर भने नकार्नै सकिनँ’ खेतमा पानी लगाउन पुगेका परियारले थाहा खबर सँगको भेटमा भने, ‘३३ घर को खेतमा पानी लगाउनुपर्छ। एक दिन र एक रात बिराएर हरेकको खेतमा पानी लगाउने पालो आउँछ। त्यहीअनुसार पानी लगाउने गरेको छु। दिनभरि खेततिरै हुन्छु।’ उनीले असार मसान्तदेखि असोज मसान्तसम्म खेतमा पानी लगाउने जिम्मा पाउँछन्।

आफ्नै सुरमा खेतमा पानी लगाउँदा आपसमा झगडा हुन थालेपछि गाउँलेहरुले पानी लगाउने ठेकेदार राख्न थालेका हुन्। ‘आफ्नै सुरमा खेतमा पानी लगाउँदा झैझगडा हुन थाल्यो’ स्थानीय जगत श्रेष्ठले भने, ‘यसरी ठेकेदार तोकेर पानी लगाउने भएपछि आनन्द भएको छ। गाउँमा पानी लगाउने निहुँमा कोही बाझ्नुपरेको छैन। ठेकेदारले नै सबैको खेतमा मिलाएर लगाइदिन्छ।’

यसरी खेतमा पानी लगाइदिएबापत ठेकेदार नन्दबहादुरलाई गाउँलेहरुले आफ्नो खेतमा उब्जनी हुने धान (मुरी) को आधारमा ज्याला धान दिने गर्छन्। ‘कोहीको खेतमा २०औँ मुरी धान फल्छ, कोहीको मा कति’ नन्दबहादुरले भन्छन्, ‘धेरै जग्गा हुनेले धेरै नै र थोरै जग्गा हुनेले थोरै नै धान दिने गर्छन्।’ यस वर्ष नन्द बहादुरले १८ मुरी धान पानीलाउने ठेकेदार भएबापत पाउने हिसाब निकालेका छन्।

गएको वर्षहरुमा ठेकेदार भएकाहरुलाई भन्दा यस वर्ष नन्द बहादुरलाई सजिलो भएको उनी स्वयं बताउँछन्। ‘पोहोरको ठेकेदारलाई अलि गाह्रो थियो। अहिले मलाई त्यस्तो गाह्रो छैन’ उनले भने ‘पहिले कच्ची कुलो थियो। भूकम्पले कुलो भत्काएर पानी सबै चुहिएर सबै सकिन्थ्यो। अहिले मर्मत भएको छ। पानी पनि कुलोमा धेरै आउँछ। खेतको गरामा पानी झार्देको भरमा हुन्छ।’ नन्द बहादुरले पानी लगाउने कुलो केयर नेपाल र स्वाँरा सघन गाउँविकास केन्द्र नामक गैरसरकारी संस्थाले मर्मत गरिदिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.